शिक्षा

माओवादी निकट अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी ८ असोजदेखि काठमाडौंमा हुने भएको छ । क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यसमितिको कार्यकाल पूरा भएकाले ८ देखि १० असोजसम्म सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए । क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन २०७४ सालमा भएको थियो ।

कोरोना भाइरसका कारण सम्मेलनमा पहिले भएका प्रतिनिधिको संख्या घटाएर भौतिक रूपमा नै गर्ने उनको भनाइ छ । उनका अनुसार सम्मेलनमा ७९९ जना प्रतिनिधि सहभागी हुनेछन् । यसअघि दुई हजार २२२ जना प्रतिनिधि रहेका थिए । ‘कोरोना संक्रमणको कारणले प्रतिनिधि घटाएका छौँ’, उनले भने, ‘त्यसैले भौतिक रूपमा नै सम्मेलन गर्नेछौँ ।’ उनले संक्रमण बढ्दै गए भने भर्चुअल माध्यमबाट पनि सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिए ।

सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि उपाध्यक्ष बस्नेतसहित उपाध्यक्षद्वय पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा र महासचिव उत्तम अधिकारी रहेका छन् । यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट अखिल ९क्रान्तिकारी०ले पनि आगामी ६ देखि ८ असोजसम्म पोखरामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने निर्णय गरेको छ ।