मुख्य समाचार

सुदूरपश्चिमका चार लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

धनगढी । सुदूरपश्चिमका चार लाख एक हजार ३३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख एक हजार पाँच सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएकोमा दुई लाख चार सय ५८ जनाले दोस्रो डोज लगाउन बाँकी छ ।

मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार सुदूरपश्चिममा तीन लाख पाँच हजार पाँच सय ५५ जनाले कोरोनाविरुद्धको दुईवटा डोज खोप लगाएका छन् । ९५ हजार चार सय ७८ जनाले जोनसन एन्ड जोनसनको एउटा डोज खोप लगाएका छन् ।

उनका अनुसार १५ भदौसम्म कैलालीमा सबैभन्दा बढी एक लाख ५५ हजार पाँच सय १० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । कञ्चनपुरमा ८७ हजार ५८, अछाममा ३० हजार ६ सय ७०, डोटीमा ३१ हजार आठ सय ८९ जनाले पूर्ण खोप लगाएका छन् ।

डडेल्धुराका १२ हजार एक सय ६२, बैतडीका ३५ हजार पाँच सय २६, दार्चुलाका १९ हजार चार सय ४८, बझाङका २२ हजार ५७ र बाजुराका सात हजार दुई सय १३ जनाले पूर्ण खोप लगाएको प्रवक्ता कार्कीले बताए । केन्द्र सरकारले उपलब्ध गराउने खोपका आधारमा प्रदेशमा आगामी दिनमा थप खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘असोजसम्म थप दुई लाखजनालाई कोरोनाविरुद्धको खोप लगाउन सकिने अनुमान गरेका छौं,’ कार्कीले भने, ‘तर संघबाट खोप नआई केही गर्न सक्दैनौं ।’-मोहन जोशी /रन्युज कारखाना