मुख्य समाचार

प्रधानन्यायाधीशबिना संवैधानिक इजलास अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको हो । आदेशसँगै संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न हुने र नहुने माग गर्दै परेका छुट्टाछुट्टै दुई रिटमाथिको सुनुवाइकाक्रममा सो आदेश आएको हो । प्रधानन्यायाधीश सदस्य रहने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेका रिटमा सुनुवाइका क्रममा रिट निवेदक कानुन व्यवसायीले संवैधानिक इजलासमा प्रधानन्याधीश बस्दा स्वार्थ बाझिने भन्दै नबस्न माग गरेका थिए । कानुन व्यवसायीको मागपछि प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइमा सहभागी नहुने निर्णय गरेका थिए ।-न्युज कारखाना