मुख्य समाचार

यो सरकारले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगरोस् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । आज युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइनबाट मान्छे खसाल्दा, नेपाली आकाशमा हेलिकोप्टर उडाउँदा चुइँक्क बोल्न नसक्नेहरूले देशका लागि बोल्ने युवाको मुख थुन्ने, गिरफ्तार गर्ने काम नगर्न चेतावनी दिएका हुन् ।

‘तुइनबाट मान्छे खसालिन्छ । बेपत्ता हुन्छ । तपाईंहरू बोल्नुहुन्न । अमेरिकाले अफगानिस्तान पहिल्यै छाडेको थियो । हेरेर बस्नुभयो । उद्धार गर्नुभएन’, ओलीले भने, ‘यो टालाटुली बटुली, कति राम्री पुतली जस्तो सरकार टालै टाला भयो ।’

भारत भन्न वर्तमान सरकारको सातो गएको ओलीको भनाइ थियो । ‘विकास गर्न नसक्ने, दशौँ हेलिकोप्टर उडाउँदा किन यसो गरेको भनेर सोध्न पनि नसक्ने, नेपालीको अफगानिस्ताबाट उद्धार गर्न नसक्ने, तुइनबाट नेपाली झारिन्छ, प्रतिवेदन आउँछ तर बोल्न सक्दैन । भारत भन्न सक्दैन । सात्तो जान्छ । नेपाल सरकारले भारतलाई थाहा दिन सक्दैन यसो भयो भनेर । नागरिक मारिँदा चुइँक्क बोल्न सक्दैन अनि सडकमा लाठी लिएर आउने बोल्ने देशभक्त युवाविरुद्ध लाग्छ ?’, उनले आक्रोश पोखे ।

वर्तमान सरकारको चाल ‘घरको बाघ, वनको स्याल’ जस्तै भएको ओलीले टिप्पणी गरे । ‘देशका लागि बोल्ने, राष्ट्रियताको पक्षमा बोल्ने युवालाई बोल्न दिइँदैन, गिरफ्तार गरिन्छ । तर, नेपालीमाथि भएको ज्यादतीमा चुइँक्क बोल्न सक्दैन । एउटा पार्टी भए त बोल्न सक्दैन भन्न हुन्थ्यो, पाँच/पाँचवटा छन् । किन नबोलेको ? धाकधक्कु त साना छैनन् । नक्कली कुरा कम छैन तर चुइँक्क बोल्दैनन्’, उनले भने ।

सत्ता गठबन्धनका नेताहरूले विकास निर्माणबारे पनि नबोलेको भन्दै ओलीले आलोचना गरे । ‘हाम्रो सरकार बन्दा एक महिनामा यति गर्ने, योयो गर्‍यौँ, प्रगति यो भयो भनेर बोल्थ्यौँ’, उनले भने, ‘उनीहरूको दिमागमा त देश छैन । चिन्तनमा जनता/सुशासन छैन । विकास छैन । समृद्ध नेपाल सुखी नेपाली भनेको सुन्दा झसङ्ग हुन्छन् । समृद्ध नेपाल किन भन्न सक्दैनन् ? नेपाली सुखी हुँदा के हुन्छ? यिनीहरू किन आत्तिन्छन् ? यी पाँचवटै दलका नेताले सुखी नेपाली, समृद्ध नेपाल भन्ने आँट गरून् त’, उनले भने ।

अध्यक्ष ओलीले एमालेसँग पाँचवटै पार्टीकै सातो गएको दाबी गरे । ‘एमालेसँग यिनीहरूको सातो गएको छ । एमाले चितवनको एक्लो बाघ हो । शुक्लाफाँटाको बथानमा हिँड्ने कृष्णसार होइन’, उनले भने ।

ओलीले एमाले अब लोभीपापी होइन, देश बनाउने संकल्प भएकाहरूको पार्टी हुने दाबी गरे । अहिले पार्टी छाडेकाहरू लोभीपापी भएको र कुनै आदर्शले नभई लोभले पार्टी छाडेको ओलीको आरोप छ ।

उनले एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोजे पनि जनता साथमा रहेको बताए । सरकारबाट लखेटे पनि जनता साथमा रहेको भन्दै ओलीले भने, ‘विकास, राष्ट्रियताको प्रश्नमा सरकारमा हुनु र नहुनुमा असर गर्छ । तर, जनताको विश्वासमा भने सरकारमा भए पनि नभए पनि कुनै असर गर्दैन । जनपक्षीय नीति र कामले अडानले जनमन जितेको छ’, उनले भने ।-न्युज कारखाना