मुख्य समाचार

केपी ओलीको आरोप : माधव नेपाल कुहिएका फर्सी हुन्

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो । बहुत दुःखको कुरा हो यो । हाम्रो पार्टीभन्दा बाहिरबाट मात्रै त्यो सम्भव थिएन,’ उनले भने, ‘हाम्रै पार्टीभित्र घुसपैठ गरे । हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो । त्यसकारण आज हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं ।’

एमालेका पूर्ववरिष्ठ नेता माधव कुमार नेपालकै कारण ठाउँठाउँमा एमाले सरकार ढालेर प्रतिक्रियावादीको हातमा सत्ता सुम्पिने काम भएको उनको टिप्पणी छ । ‘एमाले कहीँ छ भने त्यसलाई हटाउने काममा माधव नेपाल लागेका छन् । प्रदेश १ को सरकार ढाल्न माधव नेपाल लागेका छन् । बाग्मतिको सरकार ढाल्न माधव लागेका छन्,’ उनले भने, जताततै नेपालले पार्टी सिध्याउने काम गरे । उनी त अब कुहिएको फर्सीभन्दा खत्तम भइसके । एउटा कुपात्रले कुलको नास गर्छ । उनी एमालेका कुपात्र हुन् ।’

मंगलबार पोखरामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग चुनाव लड्न सबै पार्टी एकजुट भएर आउन चेतावनी दिए । ‘माधव नेपाल पार्टीमा अडिनै नसक्ने, बस्नै नसक्ने । यो पार्टी नफोरी नसक्ने । जिल्लाजिल्ला र पालिका पालिकामा पुगेर हाम्रा जनप्रतिनिधिलाई कसरी बिर्गान सकिन्छ ? यो दिउँला, उ दिउँला भनेको छ । मेयरको उम्मेदवार दिउँला भनेको छ । मेयरको उम्मेदवार भएर के गर्ने ? जित्ने त एमालेले मात्रै हो,’ उनी भन्छन्, ‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन । अब माधव नेपाल प्युसो, उम्रिन पाएको छैन, एमालेसँग मुक्काबिला गर्ने शोख ? नेकपा एमाले संकल्प बोकेको पार्टी हो ।’

माधव नेपाल र प्रचण्ड मिलेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै ओलीले त्यसलाई एमालेभित्रका युवापंक्तिले मसाल आन्दोलनबाट जोगाएको बताए ।‘त्यही पार्टीमा बस्ने, त्यही पार्टीको अध्यक्षविरुद्ध पुत्ला जलाउने । त्यहि पार्टीलाई ध्वंस गर्ने । त्यही घरमा बस्ने, त्यही घरमा आगो लगाउने । एकीकरणको बाटो छोडेर गुटबन्दी गरियो । पार्टी कब्जा गर्ने र प्रतिक्रियावादीहरुको पाउमा लगेर पार्टीलाई चढाउन खोजियो,’ उनी भन्छन्, ‘प्रचण्ड र माधव नेपालले पार्टी कब्जा गरे । पार्टी कार्यकर्तालाई धन्यवाद, उनीहरुले पार्टी कब्जा गर्दा पनि एमाले कब्जा हुँदैन भनेर देशलाई सन्देश दिनुभयो । त्यस्तो परिस्थितिमा पनि आन्दोलन गरेर पार्टी जोगाउनुभयो ।’

उनले अमेरिकालेसमेत आफ्ना नागरिक जोगाउन नसकेको अवस्थामा आफ्नो सरकारले कोरोनाबाट नागरिकको सुरक्षा गरेको दावी गरे । ‘अमेरिकाजस्तो देशले नागरिक बचाउन सकेन । भुसुक्कै भए त्यहाँ कति लाख मान्छे,’ उनले भने, ‘नेपालमा महामारीले त्यतिसारो लपेट्न पाएन । हामीले अनेक उपचार विधि र पद्धति अपनायौं । घरेलु औषधिको प्रयोग गर्न भन्यौं ।’
ओलीले सर्वोच्च अदालतको गलत फैसलाले अस्थिरता निम्तिएको संकेत गरे । ‘अदालतले जे पनि फैसला गर्छ, मान्नु पर्छ । मान्नपर्ने भएपछि अदालतले संसद पुनःस्थापना गर्दियो,’ उनले भने, ‘एउटा साधारण नियम छ, अदालतको । संविधानमा जेसुकै लेखोस्, कांग्रेसले विघटन गरे सदर, एमालेले गरे बदर ।’ संसारमा अदालतले प्रधानमन्त्री नियुक्त गरेको कुनै रेकर्ड नभएको भन्दै नेपालमा अचम्म भएको तर्क गरे ।

उनले वर्तमान सरकारले नेपालको सार्वभौमसत्ता र नागरिकको सुरक्षा गर्न नसकेको आरोप लगाए । ‘दिनदिनै विदेशी हेलिकोप्टर नेपालको आकाशमा उड्छ । के कारण हो ? तुइन चुँडाएर नेपाली मारेका छन्, सरकार किन बोल्दैन ?,’ उनले भने, ‘अफगानिस्तानमा आफ्ना नागरिकहरु अलपत्र छन् । उद्धारको प्रयास किन भएन ? एकचोटी तालिवानसँग फोन गरेर आफ्ना नागरिक ल्याउन जहाज पठाउनुपर्दैन ?’ -न्युज कारखाना