विचार/अन्तर्वार्ता

अन्तर्वार्ता : सत्ता गठबन्धन चुनावसम्म टिक्दैन – डा.बाबुराम भट्टराई

जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा छन् । कुनै समय थियो, उनलाई नेपाली राजनीतिका दूरदर्शी, पढेका, बुझेका नेता मान्नेको जमात बाक्लै थियो । तर, माओवादी त्यागेर दलबदलमा लागेपछि सर्वसाधारणले समेत भन्न थालेका छन्– ‘भट्टराईको राजनीतिक भविष्य संकटमा प-यो । उनले अस्थिर राजनीति गरे ।’
तर, भट्टराई भने आमनागरिकको बुझाई जस्तो दलबदल नभई आफूले विकास, सुशाशन, समृद्धिका निम्ति खुड्किलो पार गर्दै गइरहेको दाबी गर्छन् । दलबदल, सत्ता सञ्चालन, एमसीसी, सत्ता गठबन्धनलगायत विषयमा गोरखामा  रहेका पूर्वप्रधानमन्त्री भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :

जनमोर्चा, माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा हुनुुहुन्छ । यति धेरै दलबदल किन ?

दलबदल होइन, यो एउटै अभियानको रूप हो । जनमोर्चा र माओवादी भनेको त एउटै हो । माओवादी भूमिगत जनयुद्धको सशस्त्र तयारीका क्रममा थियो । त्यसक्रममा खुल्ला गतिविधि गर्ने मोर्चा संयुक्त जनमोर्चा थियो । त्यसयता नयाँ शक्ति, समाजवादी र जनता समाजवादी भनेको नयाँ शक्ति अर्थात् वैकल्पिक शक्ति निर्माण अभियानकै विभिन्न खुड्किला हुन् । नयाँ शक्ति एउटा अवधारणा थियो, पछि त्यस विचारसँग मिल्ने शक्तिहरूलाई गोलबन्द गर्दै अगाडि जाने क्रममा थोरै फेरबदल गरिएको हो ।

तर, संघीयता, सुशासन, समृद्धि, समाजवाद भन्ने हाम्रो नारा तपाईहरूले देख्न सक्नु हुन्छ । यो भनेको नेपालमा कांग्रेस र कम्युनिस्टको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियान हो । त्यसैले दलबदल होइन, एउटा जनयुद्धको चरणसम्म राजतन्त्र अन्त्य गर्ने र संघीय गणतन्त्र ल्याउने लोकतान्त्रिक क्रान्तिको निम्ति योगदान गर्ने चरणसम्म हाम्रो माओवादी र लोकतान्त्रिक गणतन्त्रमार्पmत लोकतान्त्रिकको एउटा चरण पूरा गरिसकेपछि विकास, सुशासन र समृद्धि जुन मुख्य एजेन्डा बने त्यसका निम्ति यो दोस्रो चरण हो । यसलाई यसरी बुझ्दा उपयक्त हुन्छ ।

तर, तपाईले नेतृत्व गर्नुभएको जसपा पनि अन्ततः फुटेरै छाड्यो । तपाई जुन पार्टीमा गयो त्यही पार्टी विभाजन भइहाल्ने अवस्था देखियो । कारण के हो ? 

जसपा फुटेकै होइन, विकास निर्माण क्रममा बोटबिरुवामा पनि हुर्कने क्रममा बोक्राहरू झर्दै अगाडि बढ्दै जान्छ । बच्चा हुर्कने क्रममा दाँत झर्दै पलाउँदै जान्छ । त्यो फुटेको, सिद्धिएको, झरेको भन्ने होइन, विकास एउटा नियम हो । त्यसले समाज विकासको क्रममा दलहरू भनेको समाजका विद्यमान वर्ग, समुदायका प्रतिनिधि हुन् ।
त्यहाँ विभिन्न टुक्र्याउने क्रममा विजातीय शक्तिहरू अर्थात् प्रतिगमन सोच राख्ने शक्ति हुन्छन् ती चाहिँ एक्लिन्छन् र अग्रगामी शक्तिहरू अगाडि बढ्छन् । त्यसैले यो टुक्रिएको, फुटेको भन्ने हैन, पार्टी सुदुढीकरण सबलीकरणको एउटा प्रक्रिया हो ।

तर, जसपा विभाजनमा सिद्धान्तभन्दा पदको लडाइँ मुख्य कारण रह्यो भन्ने छ नि ? 

त्यो गलत हो, हामी विचारमा दृढ छौँ । त्यसको वरिपरि छौँ । एकाध मान्छे आउने–जाने घटनालाई पार्टी फुट्यो भनेर लिनु हुँदैन ।

तपाई १० वर्ष शसस्त्र विद्रोहमा होमिनुभयो, अहिले विगतमा क्षेत्रीय राजनीति गरेका भनिएका दलसँग सहकार्यमा हुनुहुन्छ । त्यसवेलाका तपाईका एजेन्डा अब यस्ता पार्टीले बोक्ने बेला भएर हो कि तपाईले आफूलाई करेक्सन गर्नुभएको ?

होइन, जनयुद्धको एजेन्डा त सामन्ती राजतन्त्रको अन्त्य गरेर देशमा जनताले संविधान आपंैmले बनाउने र पँुजीवादी लोकतन्त्रलाई संस्थागत गरेर समाजवादको बाटो निर्माण गर्ने चरणमा थियो । त्यो लक्ष्य हामीले पूरा गरिसक्यौँ । अब समाजवाद निर्माण पूरा गर्ने अर्को जिम्मेवारी आएको छ । त्यो भनेको आर्थिक विकास र समृद्धिको आधार तयार परे मात्र समाजवाद आउँछ । त्यसैले यो दोस्रो चरणको अभियान र पार्टी निर्माण हो ।

यतिबेला तपाईहरूको सत्तापक्षीय गठबन्धन छ । दुई महिना बित्यो सरकारले पूर्णता पाउन सकेको छैन, यस्तो पाराले जनताका अपेक्षा कसरी र कहिले पूरा होलान् ?

यो सरकार त जनताको अभिमतको अपमान गर्दै त्यतिबेलाको एमाले, माओवादीबाट बनेको नेकपा ओली नेतृत्वको क्रममा उनीहरूले जुन खालको प्रतिगमनकारी, गैरजिम्मेवार हर्कत गरे त्यसको प्रतिरोध गर्ने क्रममा परास्त गरेको यो प्रकारको अन्तरिम चुनावी सरकार हो । त्यसैले यसबाट धेरै अपेक्षा गर्ने कुरा होइन । तर, यसलाई छिट्टै पूर्णता दिएर जान्छौँ ।

मन्त्रिपरिषद् विस्तारमै अलमल भइरहने हो भने संसद् पुनस्र्थापनाको औचित्य पुष्टि होला र ?

औचित्य पुष्टि होइन, त्यो त पुनस्र्थापना नभएको भए त व्यवस्था नै डिरेल हुन्थ्यो । चुनाव हुनेवाला त थिएन । कम्तीमा यो सरकारले चुनाव गराउँछ त्यो चाहिँ वैधानिक चुनाव हुन्छ र व्यवस्थाको रक्षा हुन्छ । त्यस अर्थमा पुरानो ओलीको प्रतिगमनकारी हर्कत र यसको तुलना गर्न मिल्दैन ।

यतिबेला देशमा एमसीसीको विवाद छ । एमसीसीको विषयमा जसपा र तपाईको धारणा के हो ? 

एमसीसी एउटा अमेरिकी सहयोगमा प्राप्त अनुदानबाट सञ्चालित हुने विकास योजना  हो । त्यसबाट अमेरिकाले हाम्रो जस्ता गरिब देशहरूको पूर्वाधार विकासमा केही योगदान गर्नुपर्दछ भन्ने सोचअन्तर्गत अगाडि सारेको एमसीसी योजना हो । त्यसमा हामीलाई पनि औद्योगिक अर्थतन्त्रको विकास गर्न, विद्युत प्रसारणका लागि विद्युत आयात निर्यात गर्न प्रसारण लाइनको आवश्यकता थियो । सँगसँगै रणनीतिक सडकहरूको स्तरोन्नति गर्नु थियो ।

त्यसैले यी दुईवटामा केन्द्रित भएर करिब ६० अर्ब बराबरको जुन अनुदान सहयोग छ, त्यो प्राप्त हुनु नेपालकै हितको कुरा थियो । तर, त्यो निर्माण गर्ने क्रममा केही प्रक्रियागत त्रुटिहरू भए जस्तै, हाम्रो संविधानअनुसार यसलाई अनुमोदन गर्ने आवश्यकता नै थिएन । अनुमोदन गर्ने प्रावधान राखियो । त्यसबाट एउटा विवाद सुरु भयो । त्यसलाई एउटा वार्ता संवादबाट हल गरेर यो अनुदान सहयोग ग्रहण गरेर जुन नै राष्ट्रिय हित हुनछ । यसको निम्ति दलहरूबीचमा सहमति बन्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

तर, अहिले सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्न हुँदैन भनेर अभिव्यक्ति दिनुभएको छ । एमसीसीकै कारण गठबन्धन तोडिने सम्भावना पनि देखिँदैछ नि ?

होइन गठबन्धन फुट्दैन । तर, यस्तो विषयमा राष्ट्रिय महत्वको विषयमा दलहरूले सत्तामा छँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा बोल्नु बडो लज्जास्पद कुरा हो । नेपालका राजनीतिक दल र नेताहरूको यस्तै दोधारे चरित्रले गर्दा नै देश धेरै पछाडि परेको छ । त्यसो गर्नु उपयुक्त छैन । राष्ट्रिय हितमा हामी सबैले एउटै नीति लिएर एमसीसी सहमतिले नै पारित गरेर अनुमोदन गर्नु उपयुक्त हुन्छ ।

प्रसंग बदलौँ । तपाईले लामो समय संघर्ष गरेको माओवादीलाई प्रचण्डले पटकपटक विघटन गरिदिए हुन्छ भन्नुहुन्छ, के कारण रहेछ ? 

माओवादी आन्दोलन सामन्ती, निरकुंशवादी राजतन्त्रको अन्त्य गरेर नेपालमा एउटा मौलिक ढंगले पुँजीवादी क्रान्ति सम्पन्न गर्न निर्माण गरिएको पार्टी र प्रयोग गरिएको एउटा नीति कार्यक्रम थियो । अब त्यो संघीय लोकतान्त्रिक, गणतन्त्रको संविधान जारी भइसकेकोपछि त्यो कार्यभार पूरा भयो ।
हामी त्यो भन्दा अगाडि बढेर वैकल्पिक शक्ति निर्माणतिर जानुपथ्र्याे । त्यसमा प्रचण्डजी पुरानै ठाउँ टाँसिएर बस्नु भयो । पुरानै सोच र संगठनले काम नगरेपछि उहाँ बेलाबखतमा यसलाई विखण्ड गर्नुप¥यो भन्नुभएको छ, त्यो औचित्य सिद्धिसक्यो त हामीले पहिल्यै भनेकै हो । त्यसलाई मानेर उहाँ एउटा समाजवादी नयाँ धु्रवीकरणतर्फ जानु नै उपयुक्त हुन्छ ।

प्रचण्डले त बेलाबखत बाबुराम माओवादीमा नै फर्कनु हुन्छ भन्नुहुन्छ नि, जानुहुन्छ ?

एउटा उखान छ नि, ‘कसैले मोटो गाई मरोस् भन्दैमा मर्दैन’ । उखानले भने जस्तै उहाँले त्यो भन्दैमा केही हुनेवाला छैन । तर, हामी अगाडि बढ्न चाहन्छौँ । उहाँ जस्तो पछाडि फर्कने, फर्काउने प्रयत्नमा हामी समावेश हुन सक्दैनौँ । त्यो उहाँको गलत बुझाई हो ।

अब चुनाव नजिकिँदै छ । चुुनावसम्म यही सत्ता गठबन्धन कायम रहन्छ ? 

आगामी निर्वाचनसम्म नै गठबन्धन जान्छ कि जाँदैन भन्न सकिँदैन । तर निर्वाचन गर्नेबेलासम्म यो गठबन्धन रहनुपर्छ भन्ने हाम्रो मान्यता चाहिँ छ । तर, बहुदलीय लोकतन्त्रमा दलहरू, गठबन्धनहरू फरक फरक बन्न सक्छन् । त्यसैले के हुन्छ अहिल्यै भन्न सकिँदैन । हामी यति चाहन्छौँ कि एउटा बलियो समाजवादी केन्द्र निर्माण होस्, त्यसले कम्युनिस्ट र कांग्रेसको भरपर्दो अग्रगामी विकल्प दिओस् । अब के हुन्छ त्यो त भविष्यले नै देखाउला ।

तपाईले एकपटक गोरखा आएर भन्नुभा’थ्यो– बुढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब घोटला भएको छ । मसँग प्रमाण छ, आवश्यक परे सार्वजनिक गर्छु । तर, अहिलेसम्म गुपचुपमै राख्नुभा’छ, किन ?

बुढीगण्डकी परियोजना मेरै पालामा सुरु गरिएको राष्ट्रिय गौरवको परियोजना हो । त्यसलाई अगाडि बढाउनुपथ्र्याे । कमिसनखोरहरूको चलखेल र अन्य राजनीति दलका नेताहरू त्यसबाट अनावश्यक प्रभावित रहेकाले यो ढिला हुन पुग्यो । अहिलेसम्म पनि त्यो अगाडि नबढ्नुमा आन्तरिक चलखेलकै मुख्य कारण हो, यो देशको हितमा छैन । बुढीगण्डकी परियोजना छिटो बन्नुपर्दछ भने म ठान्दछु ।

तर, भ्रष्टाचारको प्रमाण छ भनेर किन सार्वजनिक नगर्नु भएको ? सार्वजनिक गर्न किन डराउनु भएको ?

त्यसको छानबिन हुँदा आवश्यक पर्दा यस्तो प्रमाणहरू दिने हो । मैले जे भनेको छु, त्यसमा म अहिले पनि दृढ छु । छानविन हुने प्रक्रिया अगाडि बढेपछि त्यतिबेला मैले आफ्नो कुरा भन्ने छु ।

पछिल्लो बजेट हेर्दा तपाईको गृहजिल्ला गोरखामा बजेट अत्यन्तै न्यून छ । तपाईले पहल नगर्नु भएको कि पहल गरे पनि नपाएको हो ?

मेरो पहललाई प्रतिशोध लिने ढंगले पछिल्लो सरकारले काम ग¥यो । खासगरी केपी ओली सरकार यसमा बढी नै मेराविरुद्ध लाग्यो । त्यसकारण गोरखामा भएका बजेट कटौती भए । कुनै पनि नयाँ परियोजना सुरु भएन । खासगरी मेरो पालामा सुरु गरिएका रणनीतिक महत्वका जुन पूर्वाधारहरू थिए, त्यसलाई पूरै काट्ने र बजेट विनियोजन नगर्ने काम भयो । यो गलत थियो । त्यसमा हमेसा निन्दा गर्दै आएकोे छु । गोरखाका जनताले पनि अरुसरह नै कर तिर्दै आएका छन् । त्यसको हिस्सा गोर्खाली जनताले पाउनुपर्छ । यहाँका विकास परियोजना बजेट कट्टी गर्न पाइँदैन र अगाडि बढाउनुपर्छ भन्ने मेरो दृढ अडान छ ।

पछिल्लो समय नेपाली राजनीतिक दल र नेताहरूलाई व्यंग्य गर्दै आमनागरिकले ‘जुन जोगी आए नि कानै चिरेको’ भन्छन् । जुन दल अथवा जो व्यक्ति नेतृत्वमा आए पनि जनताले परिवर्तनको आभास गर्न पाएनन् नि ? 

त्यो सत्य होइन । हामीले संरचनात्मक कुरा हेर्नुपर्दछ । हामीले छोटो समयकै अवधिमा पनि जनताले सम्झनलायकका काम गरेका छौँ । म अर्थमन्त्री छँदा, प्रधानमन्त्री छँदा गरेको काम अहिले पनि जनताले प्रशंसा गर्छन् । त्यसैले जुन जोगी आए पनि कानै चिरेको भन्ने होइन । कुनै जोगीको कान चिरेको हुन्छ, कुनै जोगीको कान नचिरेको पनि हुन्छ । सबैलाई एउटै भन्नु हुँदैन ।-न्युज कारखाना / अश्विन दानी