समाचार

कर्णालीमा दिगो विकास लक्ष्य सप्ताह, उत्पादन र श्रममा मुख्यमन्त्री शाहीको जोड

सुर्खेत । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको हो ।

दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले जानकारी दिए । उपाध्यक्ष खड्काकाअनुसार सप्ताहको पहिलो दिन आज सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य तथा युएनडिपीको भूमिकाबारे युएनडिपीका कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले तथा कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्यांक तथा भावी रणनीतिबारे कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले प्रस्तुतिकरण गरे ।

समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनर्उत्थानका लागि दिगो विकास भन्ने मुल नाराका साथ शुरु भएको सप्ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिने छ । कर्णाली प्रदेशको समग्र विकासको लागि विभिन्न सरोकारवालासँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।

सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड १९ को घरेलु खाद्य सुरक्षा र जीविका पार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धी, नीति, मुद्दाहरु, निहितार्थ, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा बारेमा छलफल, प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य धारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श,दिगो विकास लक्ष्य अन्तर्गत बालश्रम अन्त्य गर्ने गुरुयोजना विमोचन गर्ने, रेडियो र टेलिभिजन अन्तरक्रिया/प्यानल छलफल गर्नेलगायत कार्यसूची रहेको छ ।

समुदघाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरु, कर्णाली प्रदेश जिल्ला समन्वय समिति महासंघ, प्रदेश नगरपालिका तथा गाउँपालिका महासंघका प्रमुखहरु तथा युएन एजेन्सी, कर्णाली प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरु तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको योजना आयोगले जनाएको छ ।

जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव : मुख्यमन्त्री शाही

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भए मात्र कर्णालीको समग्र विकास हुने बताए । कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम, सडक, सिँचाई, स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएको बताए । जनताको आर्थिक उत्पादन वृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको दाबी गरे ।

मुख्यमन्त्री शाहीले कर्णालीको समग्र विकासको लागि प्रदेश सरकारले दिगो विकास लक्ष्यलाई प्रथामिकता दिएको बताए । प्रदेशको विकासमा योगदान पुर्‍याउन आम नागरिकहरुले उत्पादन र श्रममा विश्वास गरेर अगाडि बढ्न आह्वान गरे ।

जनताको आर्थिक समृद्धि नभए प्रदेशको समग्र विकास नहुने भन्दै शाहीले उत्पादन र श्रममा विश्वास गर्ने जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिए ।  मुख्यमन्त्री शाहीले नेपालको राजनीतिक स्कुलिङ सहि नभएको कारण युवाहरु गलत बाटोमा लाग्ने गरेको भन्दै अबको राजनीतिक स्कुलिङमा युवा तथा आम नागरिकलाई उत्पादन र श्रममा जोड्न केन्द्रीत हुनुपर्ने बताए ।- न्युज कारखाना