मनोरञ्जन

राष्ट्रिय फुटसल आजबाट, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ । शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो । यसअघि एन्फाले आर्टिफिसियल टर्पमा प्रतियोगिता गराएर म्याटमा छनोट खेल खेल्न जाने गरेको थियो ।

लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा स्पोर्ट्स  क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । १० टोली सहभागी फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।

कर्मा छिरिङ शेर्पाको नेतृत्वमा कार्यसमिति आएपछि एन्फाले आयोजना गरेको यो पहिलो फुटसल लिग हो । यसअघि एन्फाले एएफसी फुटसल छनोटमा सहभागी हुन खुल्ला छनोट गरेर खेलाडीलाई इरान लगेको थियो । चेन्ज एन्फा, सामुहिक एकता, विकेन्द्रीकरण, आर्थिक पारदर्शितालगायत मुद्दासहित एन्फाको नेतृत्वमा आएका कर्मा छिरिङले सुरुमा आफूनिकट रहेका दावा लामालाई फुटसल कमिटी संयोजक नियुक्त गरेका थिए ।

तर पछि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको रोहबरमा आफू विरोधी कार्य गरेको भन्दै कर्माले दावाको संयोजक पद खोस्दै आफूनिकट रहेका रत्नकुमार श्रेष्ठलाई संयोजक नियुक्त गरेका थिए । एन्फाले यो प्रतियोगिताबाट एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेछ ।-न्युज कारखाना