धर्म/संस्कृति

काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौँः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ मा रहेको इनाखा गणेश मन्दिरको आज उद्घाटन भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र संघीय संसद एवं पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेको हो । उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोडेर मौलिक पहिचानको प्रवर्धन र स्थानीयको आयमा वृद्धि गर्ने दुईटा काम एकै पटक सञ्चालन गर्ने नीतिअनुरुप महानगरले काम गरिरहेको उल्लेख गरे ।

हामी नवनिर्माणलाई होइन, पुननिर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । भएकालाई बचाउने काम पहिलो हो । त्यसपछि आवश्यकताका आधारमा नवनिर्माण गरौँला । प्रमुख शाक्यले भने, ‘विवाद नभएका सम्पदाको मर्मत, सम्भार वा पुननिर्माण भएका छन् । विवाद भएका र गुठी संस्थान, पुरातत्व विभागलगायत निकायसँग स्वामित्व भएर महानगरको हातमा नभएका सम्पदामा काम गर्न पाएका छैनौँ । उनले गुठी संस्थानको स्वामित्वमा भएको जग्गाको सन्दर्भ उठाउँदै भने, ‘गुठीले धेरै आफ्नो जग्गामा कम्प्लेक्स बनाउन थालेको छ । त्यहाँ कम्प्लेक्स बनाउने होइन । जग्गा हामीलाई दिनोस् । हामी तपाईले गर्ने आय कति हो, दिन्छौँ । त्यहाँ हामी खुल्ला ठाउँ र पार्क बनाउँछौँ ।’

घुम्न जाने संस्कृति विकास भएको विषयमा प्रमुख शााक्यले, ‘आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर टाढा जाने गरेका छौँ । नजिकका सुन्दर ठाउँको भ्रमण अवलोकन गरौँ । यो सस्तो पनि हुन्छ । र मनोरञ्जनात्मक पनि हुन्छ । उनले आन्तरिक पर्यटकलाई काठमाडौँका सम्पदाको भ्रमण गर्न अनुरोध गरे ।
आज उद्घाटन गरिएको मन्दिर नजिक सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गरेका थिए । त्यस्तै वडा १२ मा रहेको पुखुसी महादेव मन्दिरको पनि उद्घाटन भइसकेको छ ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा साथ रहने प्रतिवद्धता व्यक्त गरे । महानगरले धेरै काम गरेको मैले अनुभूति गरेको छु । ठूलो ठाउँ भएकोले अपेक्षा धेरै बाँकी हुन सक्छन् । पूर्वमन्त्री श्रेष्ठले भने, ‘अपेक्षा बाँकी हुनु भनेको काम नहुनु होइन । धेरै काम भएका छन् । महानगरले अब जनताका अपेक्षालाई क्रमशः पूरा गर्दै जानुपर्छ ।’

मन्दिर पुननिर्माणअन्तर्गत पहिलो चरणमा करीव ६६ लाख ६२ हजार रुपैयाँमा काम भएको थियो । त्यसमा काठमाडौँ महानगरपालिकाले ५५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपभोक्ता समितिका अध्यक्ष महेन्द्रमान सिंह डंगोलकाअनुसार दोस्रो चरणमा करीव १४ लाख रुपैयाँको काम भयो । त्यसमा महानगरले थप ६ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । मन्दिर उद्घाटनपछि पुननिर्माणमा सहयोग गर्ने दाता र स्थानीयलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । त्यस अवसरमा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यसहित जनप्रतिनिधिहरु सहभागी थिए ।

पुननिर्माणका लागि इनाखा युवा क्लवले पनि लागत सहभागिता जनाएको छ । समितिका अध्यक्ष डंगोलकाअनुसार पुननिर्माण गर्दा आसनलाई करीव ३ फुट उचाइको बनाइएको छ भने सडकमै रहेकोले १८ इन्च दायाँ सारिएको छ । मन्दिरका पुजारी राजु डंगोलकाअनुसार यो मन्दिर करीब ३ सय बर्ष पुरानो हो । मन्दिरमा प्रस्तर गणेश मूर्ति छ । पित्तलको मूर्ति भने पुजारीको घरमै राख्ने गरिन्छ । हरेक बर्ष भाद्र शुक्ल चौथीमा मन्दिरमा ल्याएर पञ्चमीका दिन फेरि घरमै लगिन्छ । नित्य पूजा भने प्रस्तर मूर्तिमा गरिन्छ ।