समाचार

नेपाली कांग्रेसको १४औं महाधिवेशन : माया गर्ने तर डोर्याए र अघि नलगाउन नेपाली कांग्रेसलाई ओलीको सुझाव

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले सात दशकबढीको इतिहासमा राष्ट्रियता र लोकतन्त्रको पक्षमा खेलेको भूमिकाको विपक्षी र सत्तारुढ दलका नेताहरुले प्रशंशा गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको शुक्रबार दिउँसो भएको उद्घाटन समारोहमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले समेत लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै परिवर्तनको लागि भूमिका खेलेको कांग्रेसले लिने विकास र लोकतन्त्रको बाटोमा एमालेले साथ र सहयोग गर्ने बताए ।

ओलीले अन्य साना दललाई माया गर्ने नाममा उनीहरुलाई औंला दिएर डोर्याए पनि अघि नलगाउन सुझाव दिँदै लोकतन्त्र र विकासको एजेण्डामा एमालेले कांग्रेसलाई सहयोग गर्ने बताए । सत्तारुढ घटक नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया, गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र त्यसअघिका नेताहरुले महत्वपूर्ण योगदान दिएको भन्दै कांग्रेसले लोकतन्त्र र शान्तिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

नेकपा एकीककृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परिवर्तनको लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको १४औं महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी निरंकुुसताका बिरुद्ध अन्य दललाई पनि एकीककृत गर्न सकोस भनेर शुभकामना दिए । जनता समाजबादी दलका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनको लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाहको खाँचो औंल्याए । उनले संघीयता र समावेसी प्रजातन्त्रको पक्षमा महाधिवेशनले सही नीति र नेतृत्व लिन सकोस भनी शुभकामना दिए ।

लोकतान्त्रिक समाजबादीका अध्यक्ष महन्थ ठाकुरले संघयिता र समावेसीतालाई व्यवहारिक रुपमा अभ्यास गर्दै विभेदमा परेको समुदायलाई समेट्ने गरी संविधान संशोधनको नेतृत्व कांग्रेसले गर्न सकोस भनी शुभाकामना दिए । राष्ट्रिय प्रजातन्त्रा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरुले राष्ट्रियता र लोकतन्त्रलाई मजबुद बनाउन कांग्रेसको महाधिवेशनले ठोष निष्कर्ष निकाल्दै नेतृत्व चयन गर्नेमा विश्वास व्यक्त गरे ।

भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेसका नेताहरुले समेत पूर्वप्रधानमन्त्रीहरु तीन जनालाई एउटै मञ्चमा ल्याउन सक्ने कांग्रेसले सबै दलसँग सुमधुर सम्वन्ध राख्न सकेकोमा कांग्रेसको नेतृत्वलाई धन्यवाद दिएका थिए ।