समाचार

प्रतिद्वन्दीलाई पछार्दै कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको हो । खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् । गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै  १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । अहिले भर्खरै सम्पन्न मतगणनामा गगन र विश्वप्रकाश निर्वाचित भएका हुन् । निर्वाचन समितिले आधिकारिक घोषणा गर्न केही समय लाग्ने भएको छ । कार्यकर्ता विजय उत्सव मनाउँन र सञ्चारकर्मी रिर्पोटिङ्ग गर्न अहिले सानेपा परिसर घेरिएको छ ।

सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँने दुवै जना महामन्त्रीले बताएका छन् । आगामी यात्राबारे सुन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँने विश्वप्रकाश शर्माले बताए । काँग्रेसको मतगणना अन्तिम चरणमा पुग्दा सानेपा पुगेका कार्यकर्ताले थापा र विश्वप्रकाशलाई अविर दलिदिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् ।

युवा पुस्तामाझ लोकप्रिय दुवैजना महामन्त्रीमा आउनु परिवर्तनको आदर्शपात्रको रुपमा परिचित छन् । आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो । महामन्त्रीका लागि डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल चुनावी मैदानमा थिए ।

गगन थापाः
२०४६ सालको जनआन्दोलनमा हलका सक्रिय गगन थापाको वास्तविक राजनीतिक यात्रा क्याम्पस पढ्न थालेपछि सुरु भएको मानिन्छ । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि काँग्रेस निकटविद्यार्थी संगठन नेविसंघबाट राजनैतिक यात्रा अगाडि बढाउँदै २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए ।

स्ववियुमा सदस्यसचिव हुँदै सभापति समेत बनेका थापाले २०५५ सालमा नेविसंघको केन्द्रीय राजनीतिमा समेटिए । २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्रीको जिम्मेवारी समालेका थापा ०६४ को चुनावमा समानुपातिक सभासद बने । दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्रीको जिम्मा समालेका थापाले सरकारमा उपलब्धिमूलक भूमिका खेले । काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बने ।

विश्वप्रकाश शर्माः
काँग्रेसको राजनीतिमा युवामाझ लोकप्रिय बनेका विश्वप्रकाश शर्मा ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन् । विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा होमिएका उनी २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका हुन । ९ कक्षामा पढ्दा पहिलो पटक प्रहरी गिरफ्तारीमा परे । २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति हुँदै २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बनेका शर्मा २०५३ सालमा नेविसंघ महामन्त्री बनेका थिए । २०५३ मा नेवि संघ केन्द्रीय उपसभापति भए ।

२०५७ मा नेविसंघको केन्द्रीय सभापति बनेका शर्मा २०५७ सालमा काँग्रेसको महाधिवेशन प्रतिनिधि बने । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको राजनीतिमा होमिन थाले । १२ औं महाधिवेशनमा झापा जिल्ला सभापतिमा पराजित भएपछि उनमा राजनीतिको इख बस्यो । १३ औं महाधिवेशनबाट काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ सालमा नेपाली काँग्रेसको प्रवक्ता भए । २०७६ सालमा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बनेका शर्मा प्रवक्ता भएछि उदाहरणीय काम गरेर देखाउन सफल भए ।