काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी डा। शेखर कोइराला र देउवाबीच कडा प्रतिस्पर्धा भएको १४औं महाधिवेशनमा देउवालाई प्रभावशाली नेता प्रकाशमान सिंहले साथ दिएपछि सभापतिमा निर्वाचित भएका हुन् ।
मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए । दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । प्रक्रियामा गएपछि राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकोमा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिले जनाएको छ । काँग्रेसमा कुल मतदाता ४ हजार ७ सय ४३ जनामा बाँकी अनुपस्थित भएका थिए । देउवाको पक्षमा २ हजार ७ सय ३३ मत खस्दा कोइरालाको पक्षमा १ हजार ८ सय ५५ मत खसेको थियो ।
३५ मत भने बदर भएको थियो । प्रकाशमान, विमलेन्द्रलगायतको प्यानलले देउवालाई सहयोग गरेपछि फेरी कोइराला परिवार पराजित भएको छ । कांग्रेसमा सभापति पदको टुंगो लागेसँगै अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना सुरू हुने भएको छ।
आज दिउसोबाट १ तहको मतगणना हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । केही समय शारीरिक रूपमा रेष्ट गरेपछि पदाधिकारीको मतगणना सुरू गर्ने उनको भनाइ छ । अन्य पदाधिकारीको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने घिमिरेले जानकारी दिए । गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिएको भन्दैसबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको हो। सभापति पदमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतदान भएको हो। बुधबार बिहान सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको हो।
एक सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मंसिर २४ गते भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो। मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान केन्द्रको व्यवस्था मिलाइएको थियो ।
सभापतिमा पुनः निर्वाचित देउवा को हुन् ?
नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार भएको पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा निर्वाचित भए । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उनले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गरेका थिए ।
बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवा बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा जन्मिएका उनी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय भए ।
विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिए देउवाको प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।
विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । २०४८ सालमा गृहमन्त्री बनेका देउवाले अहिलेसम्मगरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए। असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस ९प्रजातान्त्रिक० का सभापति बने । २०६४ मा कांग्रेस र कांग्रेस ९प्रजातान्त्रिक० को एकतापछि काँग्रेसको वरिष्ठ नेता भए। विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भए ।
पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराए ।
२०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।-नयाँ विकल्प
Add Comment