समाचार

देशका विभिन्न ठाउँमा हिमपात सडक अवरुद्ध स्थानीयवासी तथा यात्रुहरु मर्कामा

काठमाडौं । मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ ।

विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

उता हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ भने मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकार बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिरा हिँडेका छन् । त्यस्तै उता डोटी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ ।

यसैगरी हिमपातकै कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी जनाएको छ । हिउँ परेपछि तराईबाट पहाड र पहाडबाट तराईका जिल्लाका लागि छुटेका दर्जर्नौँ सवारीसाधन अहिले राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् ।