विविध

कुनै पनि काम थालनी गर्न ढिलाइ हुँदैन, सार्वजनिक हितलाई ध्यानमा राखेर जहिले थालनी भयो, त्यही सही समय हो — मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरको आवधिक योजना आधार पत्रका विषयमा छलफल सुरु भएको छ । सहरी योजना आयोगले तयार पारेको विषयगत आधारपत्रका विषयमा सम्बन्धित विभाग, महाशाखा, शाखा, एकाइ, आयोजनाका अधिकारीविच ३ दिन छलफल हुनेछ । छलफल सुरु गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, सार्वजनिक हितका लागि थालनी गर्ने कुनै पनि काम जुन समयमा सुरु भयो त्यसैलाई उपयुक्त समय मान्नु पर्ने बताए ।

‘विकास निरन्तर पद्धति हो । एकै पटक सबै ठाउँ र क्षेत्रको विकास सम्भव छैन । यस क्रममा फरक फरक समयमा फरक फरक खालका काम थालिन्छन् ।’ शाक्यले भने, ‘राजनीतिक नेतृत्वले विचार दिनु पर्छ । यसलाई व्यवस्थित बनाएर प्रचलित कानुनी व्यवस्थाअनुरुप कार्यान्वयन योग्य बनाउन र कार्यान्वयनमा लैजान कर्मचारीबाट सहयोग चाहिन्छ । लक्ष्य हासिल गर्न कठिन छैन ।’

‘महानगरसँग नीति, बजेट र कार्यक्रम भएर पनि लक्ष्यअनुरुप योजना सम्पन्न हुन सकेनन् । यसबाट खर्च गर्ने क्षमता बढाउनु पर्ने भएको छ । अर्कोतिर काममा दोहोरोपना अहिले पनि कायमै छ । संघ र प्रदेश सभाका सदस्यहरुले ढल, सडक मर्मतजस्ता साना योजनामा काम गरिरहेका छन् । यो महानगरले गर्ने काम हो ।’ मेयर शाक्यले भने, ‘एकीकृत र योजनावद्ध सहरी विकासको नेतृत्व हामी गर्छौँ । यसमा सरोकार राख्ने निकायले सहयोग गर्नुपर्छ ।’ त्यस क्रममा मेयर शाक्यले समयअनुसार योजनाका प्राथमिकता परिवर्तन हुने सम्भावनालाई दृष्टिगत गर्दै कार्यान्वयन योग्य योजना बनाउन आग्रह गरे ।

त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, अहिले तयार हुने योजनाको दस्तावेजले आगामी निर्वाचनबाट निर्वाचित प्रतिनिधिलाई काम थालनी गर्ने आधार तयार हुने धारणा राखिन् । आवधिक योजनालाई तथ्याङ्कमा आधारित बनाउन आग्रह गर्दै उनिले, साना र ठूला पालिका सञ्चालनका लागि एउटै स्थानीय सरकार सञ्चालन ऐन भएकोले महानगरका अपेक्षा पूरा गर्न छुट्टै ऐन बनाउनु पर्ने धारणा राखिन । ‘आवधिक योजनाले महानगरको विकास प्रारुप तयार हुन्छ । यससँगै महानगरको समृद्धिका लागि छुट्टै ऐन पनि आवश्यक छ ।’ उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो ।

कार्यान्वयन योग्य आवधिक योजनालाई महानगरपालिकाले वार्षिक नीति कार्यक्रममा समेट्दै लैजाने हो भने नजिता देखिन समय लाग्दैन । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौत्तमले, सामाजिक विकास र भौतिक विकासलाई सन्तुलित हुने गरी योजना बनाउन सुझाव दिए ।

महानगरले कति जनसंख्याका लागि योजना बनाउनु पर्ने हो? केन्द्रीय तथ्याङ्क विभागले गरिरहेको गणनाबाट केही आधार बन्न सक्ला । यससँगै आवश्यकता र प्राथमिकताको नक्साङ्कन गरेर नवनिर्माण तथा पुननिर्माणलाई छुट्याउनु पर्छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालको भनाइ थियो ।

महानगरले घरधुरी सर्वेक्षण र सहरी आधार नक्सा तयार गर्ने योजना बनाएको थियो । शासन परिवर्तनपछि स्थानीय सरकारले गर्नु पर्ने नीतिगत आधार तयार गर्न, प्रविधि र प्राविधिक विषयको संयोजनमा समय लाग्यो । आवधिक योजनाका विषयमा कुरा गर्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले, प्रचलित कानुनले दिएको अधिकार र विगत साढे ४ बर्षको महानगरको अनुभवबाट आगामी दिनको प्रारुप तयार पार्न आवधिक योजना निर्माण गर्न लागिएको बताए ।

महानगरबासीले सेवा सुविधा र विकाससँग सम्बन्धित विषयमा महानगरसँग गरेका अपेक्षा, स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित कानून, राज्य, संघ र प्रदेश सरकारका नीति, नागरिक अधिकार, महानगरले तर्जुमा गरेका कानुन, नीति तथा कार्यक्रमको अनुभवलाई आवधिक योजनाको आधार पत्र तयार गर्ने स्रोतका रुपमा लिएका छौँ । सहरी योजना आयोगका सदस्य कीर्तिकुसुम जोशीले, सरकारले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा गरेका सन्धी सम्झौता र प्रतिवद्धतालाई आधार पत्र निर्माणका क्रममा ध्यान दिनेछौँ । यसमा दिगो विकास, काठमाडौँको विकासमा ऐतिहासिक पक्ष र आधुनिक पक्ष, सुशासनको प्रत्याभूति, समावेशी विकार र सहकार्यलाई मार्गदर्शनका रुपमा लिइएको छ ।

छलफलका लागि सहरी योजना आयोगले विषयगत प्रतिवेदनहरु त्यार पारेको छ । प्रतिनिधिमुलक ढङ्गमा वडामा गरिएको समुदाय स्तरीय छलफल र सहरी योजनाविदहरुको सुझावका आधारमा प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमा तथ्याङ्कसहितको पृष्ठभूमि, अहिलेसम्म प्राप्त भएका उपलब्धी, समस्या, सम्भावना र चुनौती, दीर्घकालीन लक्ष्य, उद्देश्य, नीति, रणनीति, कार्यनीति र प्रमुख कार्यक्रमहरु समेटिएका छन् ।