समाचार

गम्भीर कूटनीतिक पहल गर्नुको साटो कतिपय सरकारी दस्तावेजमा नेपालको नयाँ नक्सा नै गायब पारिएको छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवदेनमा भारतको विषयमा कुरा उठाउन नसकेको र चीनसँग नभएको सीमा विवाद उचालेर सम्बन्ध खलबल्याएको जनाइएको छ । गठन हुनुपूर्व नै कसैका लागि कम्फर्टेबल बन्ने बाचा गरेको गठबन्धन सरकारको कार्यकालमा राष्ट्रिय हितप्रति गम्भीर बेवास्ता गरिएको छ भने बाह्य सम्बन्धमा सन्तुलन खलबल्याउने काम भएको छ, प्रतिवदेनमा भनिएको छ ।

त्यसैगरी, प्रतिवेदनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भू–भागमा नेपालको प्रशासनिक उपस्थिति र स्वामित्व स्थापित गर्न गम्भीर कूटनीतिक पहल गर्नुको साटो सरकार कतिपय सरकारी दस्तावेजमा नेपालको नयाँ नक्सा नै गायब पारिरहेको उल्लेख छ । जयसिंह धामी पानी बेपत्ता प्रसंगमा मौनता, दार्चुलामा भारतबाट भइरहे महाकालीको धार परिवर्तन गर्ने कामप्रति प्रतिक्रियाविहीन अवस्था र अन्य कतिपय संवेदनशील मुद्दामा सरकारको लापरबाहीलाई हेर्दा यसलाई संयोग या प्राविधिक त्रुटिमात्रै भन्न सकिने स्थिति छैन, प्रतिवदेनमा भनिएको छ, भारतसँग साझेदारीका कैयौ विकास परियोजन अगाडि बढाउन सार्थक काम गरिरहेको छैन भने र्कातिर चीनसँग बिआरआई परियोजना अगाडि बढाउन सरकारले कुनै पहल गरिरहेको छैन । प्रतिवदेनमा भनिएको छ ।