समाचार

गठबन्धन दलहरुद्वारा स्थानीय तहको नेतृत्व बाँडफाँटको जिम्मा जिल्ला संयन्त्रलाई

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिएको छ । बैठकले त्यसका लागि मापदण्डसमेत निर्धारण गरेको छ । मापदण्डअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा जुन पार्टीका उम्मेदवार जितेको छ सोही कायम गर्ने र नेकपा (एमाले) ले जितेको ठाउँमा मतभारलाई समेत ध्यान दिएर प्रतिवेदन पठाउन भनिएको छ ।

आगामी वैशाख ३० गते एकै चरणमा ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर प्रतिस्पर्धा गर्दैछन् ।

आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन, उमेदवारको टुंगो लगाउन र सत्ता गठबन्धनले स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई यस्तो निर्देशन दिएको छ ।