समाचार

नाग्दी खोला नजिक पहिरोका कारण  पृथ्वी राजमार्ग अवरुद्ध, दोलखामा बन्दै गरेको पुल भत्कियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १२ः३० बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको चितवनको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन ।

त्यस्तै दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुल भत्किएको छ । विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्ने बन्दै गरेको पुल भत्किएको छ । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको र छड बाँध्ने तयारी समेत भइरहेको अवस्थामा शनिबार ठाडो खोलामा आएको बाढीले पुल भत्काइदिएको छ । तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीको ठेक्कामा काम गर्दै आएको थियो । यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।