अन्तराष्ट्रिय

कोलम्बोस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीको कब्जा, अमेरिकी दूतावासद्वारा सेवा बन्द

श्रीलंका । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि श्रीलंकामा फेरि प्रदर्शन चर्किएको छ । बुधबार प्रदर्शनकारीहरूले कोलम्बोस्थित प्रधानमन्त्रीको कार्यालयलाई नियन्त्रणमा लिएका थिए । स्थिति नियन्त्रण बाहिर गएको देखेर अमेरिकी दूतावासले आज र भोलिका लागि आफ्ना सबै कन्सुलर सेवा रद्द गरेको छ । रनिल विक्रमासिंघे श्रीलंकाका कार्यवाहक राष्ट्रपति बनेका छन् । श्रीलंकाका विपक्षीहरूले यस विषयमा प्रश्न उठाएका छन् ।

विपक्षी दलका नेता सजित प्रेमदासले भने, ‘राष्ट्रपतिले नियुक्ति गरेमा, पद रिक्त भएमा वा प्रधानन्यायाधीशले सभामुखसँग सल्लाह गरेर राष्ट्रपतिले काम गर्न नसक्ने महसुस गरेमा मात्र प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्छन् । यी नभई प्रधानमन्त्रीले राष्ट्रपतिको शक्ति प्रयोग गर्न सक्दैनन् । श्रीलङ्काको न्यूजवायरले देशको संसदका सभामुखलाई उद्धृत गर्दै श्रीलंकाका राष्ट्रपतिले आज राजीनामा दिने र नयाँ राष्ट्रपति जुलाई २० मा चयन गरिने जानकारी दिएको छ ।

राजिनामा नदिई राष्ट्रपति गोताबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । यस्तो अवस्थामा कोलम्बोमा प्रदर्शनकारीहरूले उग्र अडान लिएका छन् । सोही क्रममा प्रहरीले हिंसा रोक्न अश्रुग्यास समेत प्रहार गरेको थियो । स्थिति बिग्रँदै गएपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा देशमा संकटकाल घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिभी च्यानल रुपवाहिनी कर्पोरेशनको प्रसारण बन्द गरिएको श्रीलंकाली सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । कोलम्बोमा प्रदर्शनकारीहरूले यसको परिसर घेरेपछि च्यानलले प्रसारण रोकेको थियो ।

यसैबीच आन्दोलनकारीले असार १३ गते साँझसम्म राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए संसद् र अन्य सरकारी भवनमा भेला हुने बताएका छन् । यसैबीच, कोलम्बोमा फेरि विरोध प्रदर्शनलाई ध्यानमा राख्दै श्रीलंकाका प्रधानमन्त्रीको निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।