मुख्य समाचार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउदै

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन् । एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु नेपाल आए लगतै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपरान्ह साढे चार बजेतिर काठमाडौं आइपुग्ने भएका छन् ।

लुको काठमाडौं भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन् । काठमाडौंमा रहँदा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन् । उनको अरू भेटघाटबारे खुलाइएको छैन । नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’ बारे बहस जारी रहेका बेला अमेरिकी उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् ।