मुख्य समाचार

गठबन्धन जोगाउने नाममा असहज हुने खालको निर्णय नगर्न नेतृत्वलाई सुझाव

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको शिर्ष नेताहरूको बैठक चलिरहेको छ । बैठकमा गठबन्धन जोगाउन त्यति सहज नभएको धारणा राखेका बताइएको छ । अहिले नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ । काँग्रेसका कतिपय नेताले गठबन्धन जोगाउने नाममा हेर्दै असहज हुने खालको निर्णय नगर्न नेतृत्वलाई सुझाव दिएका हुन् ।

असहज देखिने खालको तालमेल भए मत ट्रान्फर गराउन नसकिने नेताहरूको धारणा छ । काँग्रेसको भोट ३० हजार अरु दलको ३ हजार भएका ठाउँमा अरु दललाई छाडियो भने एमालेले वाजी स्थिति आउने तर्फ सचेत हुन उनीहरूले नेतृत्वलाई चेताएका हुन् । काँग्रेसमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई पनि सरकार र गठबन्धन दुवैमा सहभागि गराउन काँग्रेस नेता विमलेन्द्र निधिले जोड दिएका छन् । मधेसमा एमालेको स्थिति पनि बलियो भएकाले लोसपालाई एमालेतिर जानबाट रोक्नु आवश्यक भएको निधिको तर्क छ । लोसपा एमालेतिर गए काँग्रेसलाई हानी हुने धारणा निधिले सार्वजनिकरूपमै राख्ने गरेका छन् ।

बैठकमा विमलेन्द्र निधि, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, महेन्द्र यादव, उमाकान्त चौधरी, किशोरसिंह राठौर लगायतका नेताले धारणा राखेका थिए । बैठकले साउन ३० र ३१ गते स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।