स्पोर्ट-मनोरञ्जन

को टोली कुन समूहमा: सुपर–१२ का सबै टिमको टुङ्गो लाग्यो

काठमाडौं । टी–२० विश्वकप २०२२ का छनोट खेलहरू सकिएका छन् । श्रीलंका, नेदरल्याण्ड, जिम्बाब्वे र आयरल्याण्ड सुपर १२ मा छनोट भएका छन् । यस राउण्डका खेलहरू अक्टोबर २२ गतेबाट सुरु हुँदैछन् ।

छनोटको अन्तिम खेल स्कटल्याण्ड र जिम्बाब्वेबीच भएको थियो । जिम्बाब्वेको टोली ५ विकेटले जित्दै सुपर १२ मा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सकेको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक रन बनाए । उनले ५१ बलको सामना गर्दै ५४ रन बनाए । योसँगै क्यालम म्याक्लियोडले २६ बलमा २५ रन बनाए ।

जिम्बाब्वेका लागि तेन्डाई चतारा र रिचर्ड नगरवाले सर्वाधिक २–२ विकेट लिए । जवाफमा जिम्बाब्वेको टोलीले १८.३ ओभरमा लक्ष्य पुरा गर्यो । जिम्बावेका लागि क्रेग एर्विनले सर्वाधिक रन बनाए । उनले ५४ बलमा ५८ रन बनाए । सोही क्रममा सिकन्दर रजाको ब्याटबाट २३ बलमा ४० रन बने ।