मनोरञ्जन

२ पटकको च्याम्पियन वेस्ट इन्डिज बाहिरः आयरल्याण्डसँग पराजित: ब्याट र भाग्यले साथ दिएन

होबार्ट । टी–२० विश्वकप २०२२ मा शुक्रबार सबैभन्दा ठूलो उलटफेर भएको छ । दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज छनोट चरणमा नै प्रतियोगिताबाट बाहिरिएको छ । आयरल्याण्डले विश्व च्याम्पियन टिमलाई ९ विकेटले पराजित गरेको छ ।

विश्वविजेता टोली विश्वकपको मुख्य चरणमा पुग्न नसकेको यो पहिलो पटक हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । आईसीसी वरियतामा आयरल्याण्ड १२ औं स्थानमा छ भने वेस्ट इन्डिज सातौं स्थानमा छ । यो खेलमा वेस्ट इन्डिजलाई न त ब्याट्सम्यानको साथ मिलेको थियो न भाग्यले साथ पाएको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा आयरल्याण्डले १७.३ ओभरमा १ विकेटको क्षतिमा १५० रन बनाएर लक्ष्य पछ्यायो ।