स्पोर्ट-मनोरञ्जन

बंगलादेशको नेदरल्याण्ड माथि रोमाञ्चक जितः अर्को खेलमा दक्षिण अफ्रिका र जिम्बाब्वेलाई एक एक प्वाईन्ट

होबार्ता । एसिया कपको पहिलो चरणबाटै बाहिरिएको बंगलादेशले टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । उसले आफ्नो पहिलो सुपर १२ खेलमा नेदरल्याण्डलाई ९ रनले पराजित गरेको हो । टोलीको अर्को खेल २७ अक्टोबरमा दक्षिण अफ्रिकासँग हुनेछ । सोमबार होबार्ट मैदानमा भएको पहिलो खेलमा बंगलादेशले पहिलो खेलमा ८÷१४४ रन बनाएको थियो । त्यसपछि प्लेयर अफ दि म्याच तस्किन अहमदको उत्कृष्ट बलिङका कारण नेदरल्याण्ड १३५ रनमा अलआउट भयो । आफ्नो पक्षको जितको नायक बनेका तस्किनले चार ओभरमा २५ रन दिएर चार विकेट लिए ।

अर्को खेलमा टि–२० विश्वकपमा दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल सोमबार होबार्टमा अविरल वर्षाका कारण पूरा हुन सकेन । दुवै टोलीलाई एक–एक अंक दिइएको छ । यसअघि वर्षाका कारण खेल ९ ओभरमा घटाइएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ९ ओभरमा ५ विकेट गुमाएर ७९ रन बनाएको थियो । उता, दक्षिण अफ्रिकाले इनिङ्स सुरु हुनुअघि नै वर्षाका कारण एकपटक खेल रोक्नुपरेको थियो । पछि २ ओभर घटाएर दक्षिण अफ्रिकालाई ७ ओभरमा ६४ रनको लक्ष्य दिइएको थियो । वर्षापछि दक्षिण अफ्रिकाको इनिङ्स सुरु भएपछि ३ ओभरपछि फेरि रोकिनुपरेको थियो र बारमा खेल रद्द गरिएको थियो । तीन ओभरको खेलमा दक्षिण अफ्रिकाले बिना विकेट गुमाएर ५१ रन बनाएको थियो ।