समाचार

आजदेखि राजनीतिक दल र उम्मेदवारले मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने

काठमाडौं । राजनीतिक दल र उम्मेदवारले बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । उनले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरेका छन् ।

प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताए । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए । यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।