शिक्षा

सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण सिकाई गर्न महानगर र डिजिटल एण्ड वियोन्ड प्रा.लि. विचसम्झौता

काठमाडौँ । सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्नसम्झौता भएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा आज राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो ।

आउँदो २ बर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा शिक्षण र सिकाईका लागि शिक्षकहरुको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाई व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् ।

कोड क्लब गठन गरेर कक्षा २ देखि कक्षा १२ सम्मका बिद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यसमा हरेक विद्यालयमा वेभ साइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ । यसरी काम गर्दा साइबर सुरक्षा सुनिश्चित गर्ने, गुगलको चिल्डे«न अनलाइन प्राइभेसी प्रोटेक्सन नियमअन्तर्गत मेल जारी गर्ने काम वियोन्डले गर्नेछ ।

सम्झौतापछि बोल्दै महानगरकी उपप्रमुख डंगोलले, डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीहरुको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने धारणा राखिन । ‘शिक्षकहरुलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाएर शिक्षण क्रियाकलापमा सिकाउने र सिक्नेको सम्बन्ध जोड्नुपर्छ । शिक्षकहरुको क्षमता विकास गरिएन भने विद्यार्थीहरुमा शिक्षकभन्दा आफूमा बुझ्न सक्ने क्षमता धेरै भएको महसुस हुन सक्छ । यसले सिकाई प्रणालीमा असर पुग्छ ।’ उपप्रमुख डंगोलले भनिन ‘बालबालिका चाहे संस्थागत विद्यालयमा पढुन या सामुदायिक विद्यालयमा । डिजिटल प्रविधिमा समान पहुँच हुनुपर्छ । यसका लागि आजको सम्झौता लाभदायक हुने मैले अपेक्षा गरेकी छु ।’

सम्झौताका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, शैक्षिक रुपान्तरणका लागि गरिने क्रियाकलापबाट क्रमशः नतिजा दिँदै जाने धारणा राखे । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयमा प्रश्न उठिरहन्छन् । यो अवस्थालाई सुधार गरेर हामी संस्थागत विद्यालयसँग प्रतिस्पर्धी बनाउँछौँ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ थियो । योजनावद्ध शिक्षण सिकाईका लागि अबका कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

काठमाडौँ महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीहरुको पहुँचमा एकैपटक डिजिटल साक्षरताको पहुँच पु¥याउनु पर्छ । सम्झौतापछि महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले भने, ‘डिजिटल साक्षरताविना शिक्षालाई प्रतिस्पर्धी बनाउन सकिँदैन । प्रतिस्पर्धी शैक्षिक स्तरविना बजारमा आवश्यक जनशक्तिको योग्यता पुग्दैन । हामी हाम्रा सामुदायिक विद्यालयहरुबाट बजारमा आवश्यक भएको सक्षम जनशक्ति उत्पादन गर्न चाहन्छौँ । यसका लागि आजको सम्झौता महत्वपूर्ण पाइला हो ।’ कोविडका समयमा सञ्चालन गरिएको अनलाइन शिक्षण पद्धति आपतकालीन थियो । अबको प्रणालीबाट प्रतिकुल परिस्थिति योजनावद्ध सिकाई हुन सक्ने वातावरण बन्नेछ । सम्झौताका क्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीको भनाइ थियो ।

वियोन्डले कोविड १९ संक्रमणका समयमा विद्यालय शिक्षालाई नियमित गर्ने काम ग¥यो । हामीसँग अहिले ६ हजार ५ सय शिक्षकहरुको सञ्जाल छ । हामी उनिहरुलाई तालिम उपलब्ध गराइरहेका छौँ । वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुङ्गानाले सम्झौता अवसरमा प्रस्तुतिकरण गर्दै भने ‘वेभमा खोज्न थाल्ने हो भने अति धेरै सिकाई सामग्री छन् । कुन सामग्री ठीक, कुन वेठीक, कुन आवश्यक कुन अनावश्यक भन्न गाह्रो छ । हामी सिकारुलाई आवश्यक पर्ने सामग्रीमा आधारित दवाब सिर्जना नगरी क्रिटिकल र क्रियटिभ सोच्न सक्ने बनाउन कार्यक्रम सञ्चालन गर्छौँ ।’ वियोन्डले सन् २०१३ मा गुगलबाट एजुकेटर समूहका रुपमा मान्यता पाएको हो । त्यसपछि उसले डिजिटल ट्रान्सफरमेसन, स्कूल म्यानेजमेन्ट, टिचर टे«निङ् लगायतका काम गर्दै आएको छ ।