मुख्य समाचार

भूकम्पबाट प्रभावितको उद्धार कार्य जारी, घाइतेहरुको उपचार जिल्ला अस्पताल डोटीमा हुँदै

डोटी, सुदूरपश्चिम । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, रेडक्रसकर्मी र स्थानीयवासीसमेत भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा जुटेका छन् ।

अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घरहरु चर्केको र मानवीय क्षति भए नभएको खबर नआएको प्रहरीले जनाएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पदम बोहराको घर भत्किँदा उनकी श्रीमती ३५ वर्षीया भगवती बोहरा, १२ वर्षीया छोरी सीता, सात वर्षीय छोरा हर्क बोहराको च्यापिएर मृत्यु भएको थियो । पदम बोहरा भने हाल भारतमा छन् ।

यसैगरी सोही ठाउँका प्रेम बोहराको घर भत्किँदा निज बोहरासहित उनकी छोरी तुल्सी र धनसरा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिएका छन् । घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले बताएको छ । यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । तर, मानव क्षति भए नभएको खबर भने आएको छैन ।