स्पोर्ट-मनोरञ्जन

टी–२० विश्वकप: इंग्ल्याण्डसँग १० विकेटले नराम्ररी हार बेहोरेर टिम इन्डिया विश्वकपबाट बाहिरियो

ओभल, एडिलेड । टी–२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा भारतलाई नराम्ररी पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि आइतबार मेलबर्नमा पाकिस्तान र इंग्ल्याण्डबीच खेल हुँदैछ । एडिलेडको ओभल मैदानमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ रोजेको थियो । भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । इङ्ल्यान्डले १६ ओभरमा बिना विकेटको १७० रनको लक्ष्य पुरा गरेको थियो । जोस बटलरले ४९ बलमा ८० र एलेक्स हेल्सले ४७ बलमा ८६ रन बनाएर अविजित रहे ।

भारतका लागि हार्दिक पाण्ड्याले ३३ बलमा ६३ रन बनाए । विराट कोहलीले ४० बलमा ५० रन बनाए । टोलीको सुरुवात राम्रो हुन सकेन । पहिलो बलमा चौका प्रहार गर्ने केएल राहुललाई दोस्रो ओभरमा क्रिस वोक्सले प्याभिलियन पठाए । उनले ५ रन बनाए । यसपछि रोहित शर्मा र विराट कोहलीबीच ४७ रनको साझेदारी भयो ।

सन् २०२२ को टी–२० विश्वकपमा सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित भएपछि टीम इन्डिया बाहिरिएको छ । यससँगै रोहित शर्माको नेतृत्वमा रहेको टोलीले १५ वर्षको खडेरी हटाउन सकेन । द्विपक्षीय शृङ्खलामा राम्रो प्रदर्शन गर्ने टोलीले आईसीसी प्रतियोगिताका ठूला खेलहरूमा खराब प्रदर्शन गरेको छ । यो क्रम विगत ९ वर्षदेखि जारी छ । सन् २००७ मा पहिलो पटक टी–२० विश्वकप खेलिएको थियो र महेन्द्र सिंह धोनीको कप्तानीमा मेन इन ब्लूले उपाधि जितेको थियो । टोलीले २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो र त्यसयता आइसीसी ट्रफी जितेको छैन । त्यतिबेला धोनी कप्तान थिए । त्यसयता टोली सेमिफाइनल र फाइनलसम्म पुगे पनि जित्न सकेन ।

२०१३ च्याम्पियन्स ट्रफी जितेपछि आईसीसी टूर्नामेंटको नकआउट चरणमा पुग्ने टीम इन्डियाले ७ पटक हार बेहोरेको छ । टोली चार पटक सेमिफाइनल र तीन पटक फाइनलमा पराजित भएको छ । यसबाहेक गत वर्ष युएईमा भएको टी–२० विश्वकपमा पनि सुपर–१२ भन्दा अगाडि बढ्न सकेन । सन् २०१४ मा मिरपुरमा भएको टी–२० विश्वकपको फाइनलमा भारतीय टोली श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । त्यसपछि सिड्नीमा भएको एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अस्ट्रेलियाले ९५ रनले पराजित गरेको थियो ।