स्पोर्ट-मनोरञ्जन

नेपालले साफ यू–१५ महिलालाई च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि जित आवश्यक थियो । खेल १–१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल भाग्यमानी बन्यो ।

बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा नेपालले अग्रता कायम राख्यो । दोस्रो हाफमा घरेलु टोली बंगलादेशले गोल फर्कायो । बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गरेकी थिइन् । बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार कप्तान तथा गोलकिपर सुजाता तामाङले बचाउँदै नेपालको संकट टारिन र ऐतिहासिक उपाधि दिलाइन् ।

नियमित कप्तान दीपा रोकायको स्थानमा सुजाले बंगलादेशविरुद्ध कप्तानी गरेकी हुन् ।नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यस प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । प्रतियोगितामा नेपालले भुटानलाई ७–० र १–० तथा , बंगलादेशलाई १–० ले पराजित गरेको थियो । चारवटै खेल हारेको भुटान भने अंकविहीन हुँदै यसअघि नै घर फर्किसकेको छ । नेपालको महिला फुटबल टिमले उमेर समूहमा जितेको यो दोस्रो उपाधि हो । यसअघि सन् २०१४मा श्रीलंकामा भएको यू–१४ रिजन प्रतियोगितामा नेपालको यू–१४ महिला टिमले उपाधि जितेको थियो । साफ यू–१५ महिला च्याम्पियनसिपमा भने नेपालको यो पहिलो उपाधि हो ।