काठमाडौं । निर्वाचन आयोगले मंसिर १ गते राति १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/ नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मौन अवधि (स्थिर समय) मंसिर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टाअघिबाट निर्वाचन प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/नगराउन राजनीतिक दल, तीनका उम्मेदवारलगायत सर्वसाधारणलाई सचेत गराए । मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको उनले उल्लेख गरे ।
भण्डारीले भने ‘मतदान हुने दिनको ४८ घण्टाअघि मतदान केन्द्रको ३ सय मिटर वरपर राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्दछ। कुनै पनि विधि र प्रक्रियाबाट मत माग्न, प्रचारप्रसार गर्न, गराउन हुँदैन । सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको छ ।
‘राजनीतिक दल वा दलको भ्रातृ संगठनबाट गरिएका विज्ञापन तथा प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ । मतदान केन्द्र रहेको घर, भवन वा सोवरिपरिको स्थानलाई असर पार्ने गरी वा निजी, सार्वजनिक घर वा जग्गामा शान्ति भंग गर्न वा भय सिर्जना गरी निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न पाइँदैन,’ भण्डारीले भने, ‘मतदान स्थलको वरिपरि साउन्ड सिस्टम राख्ने, त्यसलाई ठूलो स्वरमा बजाउने वा त्यस्ता खालका गतिविधि गर्न पाइँदैन। र, मतदान स्थलवरिपरि बाजागाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोज गर्ने, जुलुस प्रदर्शन गर्ने वा जुनसुकै किसिमको सभा र समारोह गरेर, हुलहुज्जत गर्न वा होहल्ला गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।’
Add Comment