मनोरञ्जन

फिफा विश्वकपको पहिलो खेलमा फिक्सिङको दाबी, कतारले इक्वेडरका ८ खेलाडीलाई खेल हार्न ६० करोड दियो

कतार । कतारमा फिफा विश्वकप सुरु हुन अब एक दिन मात्र बाँकी छ र खेल सुरु हुनुअघि नै मैदानमा फरक किसिमको खेल सुरु भएको छ । रिपोर्टका अनुसार आयोजक राष्ट्र कतारले म्याच फिक्सिङको आरोपको सामना गरिरहेको छ । कतारले आफ्नो पहिलो खेलको प्रतिद्वन्द्वी इक्वेडरलाई घुस दिएको आरोप लागेको छ ।

ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडीज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाका अनुसार कतारले विपक्षी खेलाडीहरूलाई घूस दिएको छ । ताहा र अन्य आन्तरिक स्रोतहरूका अनुसार कतारले इक्वेडरका आठ खेलाडीहरूलाई प्रतियोगिताको उद्घाटन खेल गुमाउनको लागि ७.४ मिलियन (करिब ६० करोड रुपैयाँ) दिएको दावि गरेको छ । ताहाको पनि दाबी छ– ‘यो खेल कतारले १–० ले जित्नेछ र खेलको एक मात्र गोल दोस्रो हाफमा आउनेछ’ ।

फिफाले विश्वकपमा म्याच फिक्सिङ रोक्न एफबीआईको सहयोग लिएको छ । किनभने विश्वकपमा विश्वभर १०० अर्ब डलर (लगभग ८.१७ लाख करोड रुपैयाँ) भन्दा बढीको बाजी लाग्ने अनुमान गरिएको छ । म्याच फिक्सिङ रोक्न फिफाले पहिलो पटक टास्क फोर्स बनाएको छ । यसमा स्पोर्टाडर, सट्टेबाजी बजार अनुगमन गर्ने अन्तर्राष्ट्रिय फर्म, इन्टरपोल, इन्टरनेशनल बेटिंग इन्टिग्रिटी एसोसिएसन र एफबीआई समावेश छ । उनले हरेक खेलको अनुगमन गर्नेछन् । यो कार्यदलले गोलदेखि पहेँलो कार्डसम्मका अनियमिततामा नजर राख्नेछ । यस वर्ष करिब ६ सय खेल भएका छन्, जसमा हेरफेर हुने सम्भावना रहेको स्पोर्टाडरले जनाएको छ । धेरै जसो शंकास्पद खेलहरू माइनर लिगका हुन् ।