मनोरञ्जन

फिफा विश्वकपमा सबैभन्दा ठूलो उलटफेरः उपाधि दावेदार अर्जेन्टिना ४९ औं वरियतामा रहेको साउदी अरेबियासँग २–१ ले पराजित

कतार । फिफा विश्वकपमा मंगलबार ठूलो उलटफेरे भएको छ । उपाधिको दावेदार मानिएको अर्जेन्टिना विश्वको ४९ नम्बरको टोली साउदी अरेबियासँग २–१ ले पराजित भएको छ । यो सँगै अर्जेन्टिना समूह ‘सी’को अन्तिम स्थानमा पुगेको छ । साउदी अरेबियाले दोस्रो हाफमा आक्रामक खेल देखाउँदै दुई गोल गरेको थियो । खेलको ४८ औं मिनेटमा अल–शहरानीले पहिलो गोल गरेका थिए । त्यसपछि ५३ औं मिनेटमा सलेम अल–दवसारीले गोल गरे ।

अर्जेन्टिनाका लागि १० औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि उनको टोलीले एक गोल पनि गर्न सकेन । यो हारसँगै अर्जेन्टिनाको लगातार ३६ खेलको अपराजित यात्रा टुटेको छ । यस अवधिमा अर्जेन्टिनाले २५ खेल जितेको छ भने ११ खेल बराबरी खेलेको छ । अब अर्जेन्टिनाले नोभेम्बर २७ मा मेक्सिको र ३० डिसेम्बरमा पोल्याण्डसँग खेल्नेछ । विश्वकप इतिहासमा साउदी अरेबियाको यो तेस्रो जित हो ।

योसँगै साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनासँग अब दुई खेल बाँकी छ । राउन्ड अफ १६ मा जानका लागि अब उसले कुनै पनि हालतमा आफ्ना दुवै खेल जित्नुपर्नेछ । अर्जेन्टिनाले सुरुमा राम्रो खेल खेलेपनि टोलीका खेलाडीहरु पटक पटक अफसाइड भएका थिए । अर्जेन्टिना ७ पटक अफसाइड थियो । अर्जेन्टिनाका लागि दोस्रो गोल लाउटारो मार्टिनेजले गरे पनि अफसाइडका कारण रेफ्रीले रद्द गरेका थिए । मेस्सीले अफसाइड गोल पनि गरेका थिए ।