समाचार

दोलखामा गठबन्धनका कार्की प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ मा काफ्लेको अग्रता

दोलखा । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्मको चार हजार ४९४ मत गणना हुँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले दुई हजार ९ सय १० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले एक हजार १८३ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेश सभा क मा तीन हजार ९६६ मत गणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार १८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार ३२७ मत ल्याएका छन् ।
प्रदेश सभा ख मा चार हजार ४५३ मत गणना हुँदा एमालेका भरत केसीले दुई हजार १८५ र कांग्रेसका बर्मा लामाले एक हजार ८५७ मत प्राप्त गरेका छन् । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।