मुख्य समाचार

समानुपातिकको मतगणना अन्तिमतिर: नेकपा एमालेको फराकिलो अग्रता, पार्टी फुट्दा २८ सिटको क्षति

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणामअनुसार ७ वटा दलले राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ । अहिलेसम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गन्दा नेकपा एमालेले २७ लाख ७३ हजार ९९९ मत ल्याएर अग्रता कायमै राखेको छ । दोस्रोमा रहेको नेपाली काँग्रेसले २६ लाख ४४ हजार २४१, तेस्रोमा रहेको माओवादीले माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर थ्रेसहोल्ड कटाउने निश्चित भइसकेको छ । आठौं स्थानमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन संघर्षरत छ । नेकपा एसले अहिलेसम्म २ लाख ९४ हजार ६३ मत ल्याएको छ । थ्रेसहोल्ड कटाउन खसेको सदर मतको ३ प्रतिशत कटाउनुपर्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८ मत प्राप्त गरेको छ।

नेकपा एमाले पार्टी विभाजन भएर बनेको एकीकृत समाजवादीका कारण प्रतिनिधिसभामा मात्रै एमालेलाई कम्तीमा २८ सिटको क्षति भएको छ । दुवै दल र उम्मेदवारले पाएको मत केलाउँदा पार्टी विभाजन नभएको अवस्थामा एमालेले प्रत्यक्षतर्फ थप १७ सिट जित्ने तथा समानुपातिकतर्फ चार सिट बढाउँथ्यो ।

प्रत्यक्षतर्फका एक सय ६५ मध्ये एक सय ६२ क्षेत्रको नतिजा आउँदा एमाले ४४ सिटसहित दोस्रो स्थानमा छ । बाजुरा, स्याङ्जा र दोलखामा मतगणना जारी छ । त्यस्तै, बिहीबार रातिसम्मको मतपरिणामअनुसार एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने देखिन्छ । दुवैतर्फ गरी एमालेले ७८ सिट जित्ने आकलन छ ।

प्रत्यक्षतर्फ कांग्रेसले ५५ सिट जितिसकेको छ भने बाजुरा र स्याङ्जामा अग्रता लिइरहेको छ । समानुपातिकतर्फ एमालेको भन्दा करिब एक लाख ३० हजार मत कम रहेको कांग्रेसले ३२ सिट पाउने आकलन छ । दुवैतर्फ गरेर कांग्रेस पहिलो दल बन्ने निश्चितजस्तै छ ।
पार्टी विभाजन भएर माधव नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादीले मत काट्दा एमालेले सयदेखि तीन हजारसम्मको मतान्तरमा ती सिट गुमाएको हो । समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ तर मतगणना अन्तिमतर्फ पुग्दा समानुपातिकमा भने थ्रेसहोल्ड कटाउन संघर्षरत छ ।
फुटका कारण क्षति व्यहोरेको एमालेले प्रतिद्वन्द्वी बनेर गुमाएको १७ निर्वाचन क्षेत्र, एकीकृत समाजवादीले जितेका १० मध्ये सात सिटसहित २४ सिट जित्दा सग्लो अवस्थामा ६८ सिट जित्ने मतको आँकडाले देखाउँछ । एमालेले अहिलेसम्म प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको छ ।

त्यस्तै, एकीकृत समाजवादीले समानुपातिकतर्फ पाएको करिब तीन लाख मतसमेत जोड्दा एमालेले समानुपातिकतर्फ थप चार सिट बढाउन सक्ने देखिन्छ । अहिलेसम्मको मतपरिणामअनुसार एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने अनुमान छ । यसरी प्रत्यक्ष र समानुपातिकतर्फ गरी एमाले करिब एक सय ६ सिट जितेर पहिलो दल हुने मतपरिणामबाट अनुमान गर्न सकिन्छ । त्यस्तो अवस्थामा एमालेलाई सरकार निर्माणका लागि बहुमत पुर्याउन ३२ सिट मात्रै अपुग हुन्थ्यो ।

एमालेले पार्टी विभाजनबाट प्रदेश १ मा मोरङ १, सुनसरी ४, भोजपुर, तेह्रथुम, खोटाङ र उदयपुर २ सहित ६ सिट गुमाएको छ । त्यस्तै, मधेसमा धनुषा २ र रौतहट ४ गरी दुई सिट गुमाएको मतपरिणामले देखाएको छ । बागमतीमा भक्तपुर २, काठमाडौं ७ र १० गरी तीन सिट गुमाएको छ । गण्डकीमा नवलपरासी पूर्व २ मात्र गुमाएको छ । लुम्बिनीमा दाङ २, कर्णालीमा दैलेख २ र मुगु गुमाएको छ । त्यस्तै सुदूरपश्चिममा कैलाली ४ र ५ गुमाएको मतपरिणामबाट देखिन्छ ।

नफुटेको भए अहिले एकीकृत समाजवादीले जितेका १० मध्ये सात क्षेत्र पनि एमालेले जित्थ्यो । एमालेका उम्मेदवारले पाएको मत र एकीकृत समाजवादीले समानुपातिकतर्फ पाएको मत केलाउँदा माधव नेपालले जितेको रौतहट १, राजेन्द्र पाण्डेले जितेको धादिङ १, मेटमणि चौधरीले जितेको दाङ १, प्रेम आलेले जितेको डोटी, भानुभक्त जोशीले जितेको बझाङ, शेरबहादुर कुँवरले जितेको अछाम २, अम्मरबहादुर थापाले जितेको दैलेख १ मा पनि एमालेले जित्न सक्थ्यो ।