समाचार

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक सुन्दरीजलमा अनावरण

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक सुन्दरीजलमा स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण गरिएको सन्त नेता भट्टराईको पूर्णकदको शालिक आइतबार एक समारोहबीच अनावरण गरेका हुन् ।

विसं २०४८ को आमनिर्वाचनमा तत्कालिन काठमाडौं क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने संकल्प र घोषणा मतदातासमक्ष गरेका थिए । भट्टराईले देखेका सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उनको पूर्णकदको सालिक निर्माण गरेको जनाएको छ ।

शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको भन्दै काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्नेगरी आवश्यक तयारी गरिने बताए । राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको भन्दै देउवाले गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयवासीसँग शुल्क उठाउने सरकारी कार्य बन्द गर्ने बताए ।

सो अवसरमा कार्यकारी निर्देशक श्रेष्ठले आयोजनाले काम नसक्दै मेलम्ची खानेपानी विकास समिति खारेज भएका कारण कर्मचारीहरुले गत साउन यता कुनै तलब सुविधा नभएको भन्दै समस्या समाधानको लागि प्रधानमन्त्रीसँग आग्रह गरे ।