मुख्य समाचार

परम्परागत राजनीतिलाई नयाँ रणनीतिक कोर्समा प्रवेश गर्दै नेपाली काँग्रसको संसदीय दलको निर्वान हुँदै

काठमाडौं । गत मंसिरमा सम्पन्न भएको निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज मतदान हुँदै छ । संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार छन् । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । थापा पहिलोपटक दलको नेताका लागि निर्वाचन लड्दै छन् । निर्वाचन समिति संयोजक अनुसार आज बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । कांग्रेस दलको नेता निर्वाचित हुनु भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुनु हो ।

इतर समूहका नेता डा. शेखर कोइरालाले थापालाई दलको नेताको उम्मेदवार बन्न समर्थन गरेर कांग्रेसको परम्परागत राजनीतिलाई नयाँ र रणनीतिक कोर्समा प्रवेश गराएका छन् । दलको नेतामा निर्वाचित हुन देउवा र थापा दुवैले आफ्नो समूहको भोट सुरक्षित गर्ने र अर्को समूहको भोट तान्ने रणनीति अपनाएका छन् । मंंगलबार उम्मेदवारी टुंगो लागेसँगै आफ्नो पक्षमा मत ल्याउन दुवै नेता आफैँ र समूह परिचालनमा लागेका छन् ।

हाल कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ । अंकगणितअनुसार संस्थापन पक्षसँग सुविधाजनक बहुमत देखिन्छ । तर, दुवै पक्ष एक–अर्को समूहमा रहेका सांसदको समर्थन जुटाउने र मत बढाउने रणनीतिमा केन्द्रित छन् । ८९ मतदातामा संस्थापनमा ५४ र इतर समूहमा ३५ सांसद देखिन्छन् ।