समाचार

देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित, छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला

काठमाडौं । नेपाली काँग्रेस पार्टीका महामन्त्री गगन थापालाई भारी मतान्तरले पराजित गर्दै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि बुधबार भएको मतदानमा देउवाले ६४ र महामन्त्री थापाले २५ मत पाएका छन् । निर्वाचनमा ८९ मतदाता थिए । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था भएकाले यो जितले सबैभन्दा ठूलो दलका सभापति देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला गरेको छ ।

दलको नेताको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत आएपछि निर्वाचन समितिले देउवालाई नेता चयन भएको घोषणा गरेको थियो । निर्वाचन समिति संयोजक सहमहाममन्त्री भीष्मराज आङदेम्बेका अनुसार निर्वाचनमा ८९ सांसदले नै मतदान गरेका थिए । कांग्रेस विधानमा दलको नेता हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ । एक वर्षअघि भएको १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पाटी सभापति बनेका थिए ।