समाचार

ज्येष्ठ सदस्य पशुपति शमशेर राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन्।

शपथ लिन नवनिर्वाचित सांसदहरु राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए। संसद सचिवालयका अनुसार २६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

शपथअघि ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाएका बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणालीबाट निर्वाचित ११० गरी कूल २७५ सांसद छन्।शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा। गौतमले नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गरेका थिए। रासस