समाचार

गण्डकी, लुम्बिनी र प्रदेश १ मा एमाले, कर्णालीमा माओवादी केन्द्र बागमती र सुदूरपश्चिम प्रदेशमा आलोपालो

काठमाडौं । सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति भएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको बैठकले प्रदेशका सरकार गठनको खाकामा सहमति भएको स्रोतले जानकारी दिएको छ ।

समाचरका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ। कर्णालीमा माओवादी केन्द्रले पाँचै वर्ष सरकार चलाउने सहमति भएको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

त्यस्तै प्रदेश सभाको सभामुख र उपसभामुखको चयनबारे पनि सत्ता साझेदार दलबीच सहमति भएको छ। एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रको सभामुख र माओवादी केन्द्रको मुख्यमन्त्री भएको प्रदेशमा एमालेका तर्फबाट सभामुख हुनेछ। तर बागमती प्रदेशको सभामुख पद चाहिँ राप्रपालाई दिने निर्णय भएको छ।”

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने त्यसैगरी मधेश प्रदेश र कर्णाली प्रदेशको प्रदेश सभामा सभामुखमा एमालेका तर्फबाट नियुक्त हुने सहमति भएको छ प्रदेश १ र गण्डकी प्रदेशको उपसभामुख एमाले, बागमती र कर्णाली प्रदेश उपसभामुख माओवादी केन्द्र, लुम्बिनी प्रदेशमा राप्रपा र मधेशमा जनमत पार्टीका तर्फबाट उपसभामुख चयन गर्ने सहमति भएको स्रोतको भनाई रहेको छ ।