मनोरञ्जन

भारतले श्रीलंकासँग लगातार १० औं ओडीआई शृङ्खला जित्यो

कोलकता । भारतले विश्वकप वर्षकै पहिलो एकदिवसीय सिरिज जितेको छ । उनले घरेलु मैदानमा भएको ३ खेलको शृङ्खलामा श्रीलंकामाथि २–० को अग्रता लिएका छन् । दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको छ । भारतले सिरिजको पहिलो एकदिवसीय खेल ६७ रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल १५ जनवरीमा तिरुवनन्तपुरममा हुनेछ ।

भारतले श्रीलंकालाई लगातार १० औं एकदिवसीय सिरिजमा पराजित गरेको छ । भारतीय टोली विगत २६ वर्षदेखि श्रीलंकासँग एकदिवसीय सिरिजमा हारेको छैन । उनको अन्तिम पराजय सन् १९९७ मा भएको थियो । कोलकाताको इडेन गार्डेन रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाको टोली ३९.४ ओभरमा २१५ रनमा आउट भएको थियो । डेब्यु खेल खेल्दै नुआनिदु फर्नान्डो (५०) ले अर्धशतकीय पारी खेले । कुसल मेन्डिसले ३४ र भानिन्दु हसरंगाले २१ रन बनाए । कप्तान दासुन शनाकाले मात्र २ रन बनाउन सके । भारतका स्पिनर कुलदीप यादव र फास्ट बलर मोहम्मद सिराजले ३–३ विकेट लिए । उमरान मलिकले २ विकेट लिए ।

जवाफमा टिम इन्डियाले ४३.२ ओभरमा ६ विकेट गुमाएर आवश्यक रन बनाएको थियो । केएल राहुलले ६४ रनको इनिङ्स खेले । उपकप्तान हार्दिक पाण्ड्याले ३६ रनको योगदान दिए । यी दुईबीच पाँचौं विकेटका लागि ११९ बलमा ७५ रनको साझेदारी भएको थियो । त्यतिबेला भारतीय टोलीले ८६ रनमा ४ विकेट गुमाएको थियो । कप्तान रोहित शर्मा १७, शुभमन गिल २१, विराट कोहली ४ र श्रेयस अय्यर २८ रन बनाएर आउट भए । श्रीलंकाका लाहिरु कुमारा र चमिका करुणारत्नेले २–२ विकेट लिए । कासुन रजिथा र धनञ्जय डि सिल्भाले एक एक सफलता हात पारे ।