मनोरञ्जन

सन्नी देओलको गदर २ को कथा लिक, अगस्ट ११ मा हलमा रिलिज हुँदै

नया दिल्ली । गदर २ सन्नी देओल, अमिषा पटेल र उत्कर्ष शर्मा फेरि एकपटक ‘गदर’ बनाउन लागेका छन् । अनिल शर्माको निर्देशनमा बनेको यो फिल्मका तस्विरहरु बारम्बार सार्वजनिक भइरहेका छन् । अहिले फिल्मको कथा लिक भएको छ । यसपटक तारा सिंह श्रीमती नभई छोरालाई लिन पाकिस्तान जाने बताइएको छ ।

सन् २००१ मा रिलिज भएको फिल्म ‘गदर–एक प्रेम कथा’ मा तारा सिंहकी पत्नी सकिनालाई उनका परिवारका सदस्यहरूले पाकिस्तान लगेका थिए । तारा सिंहले उनलाई फिर्ता लिन त्यहाँ विद्रोह गर्छन् । गदर २ मा तारा सिंह फेरि पाकिस्तान जानेछन् । यस पटक भारतीय सेनामा सिपाही रहेका छोरालाई लिन । रिपोर्टका अनुसार यो कथा सन् १९७१ को भारत–पाकिस्तान युद्धको वरिपरि बुनेको छ । यस पटक पनि सन्नी देओलका छोराको भूमिका फिल्मका निर्देशक अनिल शर्माका छोरा उत्कर्ष शर्माले निभाएका छन् ।

‘गदर २’ को सनी देओलको फर्स्ट लुक सार्वजनिक भएको छ । पहिलो लुक पोस्टर २६ जनवरीमा रिलिज भएको थियो र योसँगै फिल्मको रिलिज मिति पनि बाहिरिएको थियो । यसपटक पोस्टरमा सनी देओल हातमा हथौडा लिएर देखिएका छन् । पोस्टरले राम्रो प्रतिक्रिया पाएको छ र दर्शकहरू फिल्मको रिलिजको लागि उत्सुक छन् । अनिल शर्मा निर्देशित फिल्म ‘गदर २’ अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । फिल्मको टक्कर रणवीर कपूरको ‘एनिमल’सँग हुनेछ ।