समाचार

कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्य अरूण चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए । २०६६ साल भदौ तीन गते कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले उजुरी दिदै ट्याक्टरमा उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने समेत दाबी गरेका थिए ।

सोही मुद्दामा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।