समाचार

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सक माथि हातपात गर्ने प्रहरी निलम्बनः आक्रमण अशोभनीय र दुखद्: थापा

काठमाडौं । शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन । सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले चिकित्सकमाथि भएको आक्रमणको विरोध गरेका छन् । यस्ता आक्रमण अशोभनीय र दुःखद भएको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेका छन् । तामझामवाला शैलीका कारण राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उल्लेख गर्दै थापाले यसलाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्न आवश्यक रहेको जिकिर गरेका छन् ।

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए ।