समाचार

यातायात मजदुरद्वारा उपत्यकाभित्र अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं । गंगबुस्थित नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरलगायतले मजदुर र मजदुरसँग सम्बन्धित संगठनका नेता–कार्यकर्तामाथि आक्रमण गरेको विरोधमा यातायात मजदुरले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् । यातायात मजदुरले आजै बालाजु बाइपास क्षेत्रमा प्रदर्शन गरेका थिए।

उनीहरूले कुँवरसहित लोत्सकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित ३० जनाको समूहले आक्रमण गरेको जनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले संयुक्त विज्ञप्ति जारी गर्दै भोलिदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा आफ्ना दशबुँदे माग पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द हुने उल्लेख छ । उपत्यकाबाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्वनिर्धारित कार्यक्रम यथावत सञ्चालन गर्न उनीहरूले अपिल गरेका छन्।