विविध

छ वर्षे पदावधि पूरा गरी निर्वाचन आयुक्त पौड्याल रिटायर्ड

काठमाडौं । निर्वाचन आयोगका माननीय निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल छ वर्षे पदावधि पूरा गरी आयोगका आयुक्तबाट आजदेखि अवकाश प्राप्त गरेका छन् । आयोगमा आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानूनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गर्दै आयोगको छविलाई उच्च राख्न पौड्यालले खेल्नुभएको भूमिकाको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन (विसं.२०७४) देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्याले दिनुभएको योगदान आयोग र आम जनताका लागि सम्पति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूलमन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानूनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गरे । उनले कानूनको इमानदारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गरे ।

आयोगमा विसं. २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीन दशक निजामति सेवामा व्यतित गरी विशिष्ट श्रेष्णी (सचिव) बाट अवकाश प्राप्त गरेका थिए । विसं. २०१५ वैशाख ११ गते स्याङ्जामा जन्मेका पौड्यालले वातावरण इञ्जिनियरिङ, समाजशास्त्रलगगायत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । विश्वका ४५ मुलुकको भ्रमण गरेका पौड्याल सार्वजनिक खरिद, करार व्यवस्थापन, कार्यदक्षता मूल्याङ्कन, खानेपानी व्यवस्थापन, अनुगमन÷मूल्याङ्कनजस्ता विषयमा विज्ञ मानिन्छन् ।