मनोरञ्जन

पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्दै नेपाल विजयी

युएई । आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्दै नेपालले जित हात पारेको छ । पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ४५.२ ओभरमा पूरा गरेको छ ।

नेपालको जितमा कुशल भुर्तेलले ६९ बलमा ५६ रन बनाउँदा आसिफ सेखले ३९ बलमा २२ रनको योगदान गरे। त्यसैगरी, आरिफ सेखले ३३, दीपेन्द्रसिंह ऐरीले २२, रोहित पौडेलले २० र कुशल मल्लले १२ रन जोड्दा ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले क्रमशः ४ र ५ रन मात्र बनाउन सकेका थिए । यसअघि ब्याटिङ गरेको पपुवा न्युगिनीले ९ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिस जिसीले समान एक–एक विकेट लिए। एक ब्याटरलाई कुशल मल्लले रनआउट गरेका थिए ।