मुख्य समाचार

५ हजार मान्छे मारेको जिम्मा लिन सक्ने दिएको भाषणका लागि प्रधानमन्त्री दाहाल विरुद्धको रिट सर्वोच्चमा दर्ता, बिहीबार पेसी तोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहाल विरुद्ध मुद्दा दर्ता भएको हो । सर्वोच्च प्रशासनले दाहाल विरुद्धको रिटको बिहीबार पेसीसमेत तोकिदिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएसँगै मङ्गलवार अदालतमा दाहाल विरुद्ध रिट दर्ता भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका थिए ।
दाहालले २०७९ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सर्वोच्चले दाहालले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिन्छु भनेर दिएको अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो । त्यही आदेशअनुसार मंगलबार सर्वोच्चमा रिट दर्ता भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले २०७९को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए । माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए ।