समाचार

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू 

काठमाडौं । संवत् २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री ।
(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री ।
(ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी ।
(घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी ।
(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य ।
(च) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी ।
(छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी ।
(ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी ।
(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन ।
(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति ।
(ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि ।
(ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति ।
(ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता ।
(ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक ।
(ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी ।
(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी ।
(थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी ।
(द) मतदाता ।
(ध) विकास साझेदार संस्था ।
(न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी ।
(प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी ।
(फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार ।
(ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार ।