मुख्य समाचार

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ: एमाले सचिव एवं पूर्व मन्त्री रायमाझी अझै फरार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । स्रोतका अनुसार भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाणको समेत नाम बयानमा लिएका छन् । सोही आधारमा उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।
भुटानी शरणार्थी ठगी प्रकरणमा प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ । मंगलबार दुईजना पक्राउ परेका छन् । काठमाडौं टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी मंगलबार पक्राउ परेका हुन् । उनीहरू दुवै पैसा उठाउने बिचौलिया भएको काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

यसअघि यो मुद्दामा आठजना पक्राउ परिसकेका छन् । जसमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रहेका भने बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई रहेका छन् । स्रोत कै अनुसर पक्राउ पुर्जी जारी भएका र अझै फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसमेत रहेका छन् । अन्य सातजना बिचौलिया समूहसँग मिलेर पैसा उठाउनेहरू रहेक छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव एवं पूर्व मन्त्री टोपबहादुर रायमाझी एक सातादेखि फरार छन् । यदि ३० दिनभित्र पनि उनी पक्राउ नपरे वा सदनमा उपस्थित नभए उनको स्वतः सांसद पद निलम्बनमा पर्नेछ । संगठित अपराध निवारण ऐन, २०७० मा यससम्बन्धी प्रावधान छ । ऐनको दफा ५२ मा फरार रहेका व्यक्तिको सम्बन्धमा विशेष व्यवस्था छ । जसमा भनिएको छ, ‘संगठित अपराध गर्ने कुनै व्यक्ति पक्राउ गर्न नसकेको वा फरार रहेकोमा त्यस्तो व्यक्तिको नाममा पक्राउ पुर्जी जारी भएको ३० दिनको भोलिपल्टदेखि निज अदालतमा उपस्थित नभएसम्म देहायका कुरामा देहायबमोजिम हुनेछ ।’

सो दफाको उफदफा १(क)मा थप भनिएको छ, ‘त्यस्तो व्यक्ति नेपाल सरकार, संवैधानिक निकाय वा कुनै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, स्थानीय निकाय, शैक्षिक वा प्राज्ञिक संस्था वा अन्य कुनै सार्वजनिक संस्थाको बहालवाला पदाधिकारी वा कर्मचारी भए आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ ।’ रायमाझी बहालवाला सांसद भएकाले यो प्रावधानअनुसार उनी अबको तीन सातापछि स्वतः निलम्बनमा पर्ने प्रहरी अधिकारी बताउँछन् । सोही दफामा त्यस्तो अवस्थामा सम्पत्ति रोक्का राख्नका लागि विदेशमा रहेको अवस्थामा कूटनीतिक माध्यमबाट सुपुर्दगी गरेर ल्याइने पनि उल्लेख छ ।