मुख्य समाचार

राष्ट्रपति पौडेललाई हृदयघात भएपछि अस्पताल भर्ना, चिकित्सकद्वारा एन्जियोप्लास्टी

कठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छातीमा दुखाइको समस्या देखिएपछि मंगलबार बिहान काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।  पौडेललाई मंगलबार हृदयघात भएको स्रोतले जनाएको छ । त्यसपछि उनको एन्जियोप्लास्टी गरिएको थियो ।
चिकित्सकका अनुसार राष्ट्रपति पौडेललाई मायोकार्डियल इन्फ्राक्सन भएको छ, जसलाई बोलचालमा हृदयघात भनिन्छ । मायोकार्डियमको कुनै भागमा रगतको प्रवाह नहुँदा वा रगतको कमी हुँदा यस्तो अवस्था आउने चिकित्सकहरूले बताएका छन् । राष्ट्रपति पौडेलको मुटुको दाहिने कक्षमा रहेको धमनीमा ९० प्रतिशत अवरोध थियो ।

त्यसपछि शहीद गंगालाल अस्पताल, सरकारी मुटु रोग अस्पतालका चिकित्सकले राष्ट्रपति पौडेलको एन्जियोप्लास्टी गरेका छन् । यो एक चिकित्सा प्रक्रिया हो जसमा एक साँघुरो वा अवरुद्ध धमनी खोल्न बेलुन प्रयोग गरिन्छ । एन्जियोप्लास्टीपछि पौडेललाई निगरानीमा राखेर अस्पतालबाट डिस्चार्ज गरिएको एक अधिकारीले बताए ।

यद्यपी राष्ट्रपतिको कार्यालयले उनको अस्पताल भर्ना र स्वास्थ्यबारे आधिकारिक जानकारी दिएको छैन । मंगलबार अस्पताल भर्ना हुनुअघि राष्ट्रपति पौडेलले शनिबार पनि चेकअप गरेका थिए । यस वर्षको अप्रिलमा पौडेललाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो तर उनको स्वास्थ्यमा सुधार नभएपछि भारतको दिल्ली लगिएको थियो । उनको दिल्लीको एम्स अस्पतालमा उपचार गरिएको थियो, जहाँ उनलाई फोक्सोमा संक्रमण देखिएको थियो ।