धर्म/संस्कृति

संस्कृति तथा पर्यटन समिति र ज्यापू महागुथि नेपाः केन्द्रीय समितिको संयुक्त आयोजनामा  नेपाल अर्केष्ट्रा ११४३ भव्यरुपमा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय संगीत दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा काठमाडौँका ज्यापु सहित नेवार र नेपालका विविध जातजाति भाषाभाषीले सामाजिकतथा सांस्कृतिक क्रियाकलापमा प्रयोग गर्ने बाद्यबादन (लोक बाजा) हरुको प्रतिनिधिमुलक प्रस्तुति राखिएको थियो । युवा पुस्तालाई मौलिक परम्परागत बाजागाजा र संगीत क्षेत्रमा आकर्षित गरी पुस्तान्तरण, विकास र विस्तार गर्ने कार्यक्रम आयोजनाको मुख्य उद्देश्य थियो । सांस्कृतिक एवं सांगीतिक पर्यटन गर्ने, लोक जीवनमा आधारित गीत र संगीतको प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य थियो ।

कार्यक्रममा काठमाडौँका परम्परागत बाद्य तथा गायनसँग सम्बन्धित धुन्या, निस्तेनाथग्वारा (बाह्रमास), मंगलधुन, नेवाः राष्ट्रिय म्ये (गीत), ज्यापू महागुथिया म्ये (गीत), पाहाँचः¥हे (घातु), सिनाज्यागुलितफसात (वाह्रमासे) जिगु थ्वमन लगायतका गीतकाधून समावेश गरिएका थिए । यी प्रस्तुतिमा धिमे, भुस्या, मादल, बाँसुरी, बय्, शंख, घण्ट, घौ, चिग्वःधिमे, तग्वःधिमे, पोंगा, का, बबू, ता, खिं, पछिमा, नायोखिं, दं, डम्फु, ढोलक, नगरा, टुङ्ना, मुर्चुङ्गा, खैजडी, ख्वालिमालि, झ्यालि, मेटल प्रिकसन, हारमोनियम, सारंगी, लगायत ४० प्रकारका बाद्य सामग्री प्रयोग गरिएका थिए । प्रस्तुतिमा खेम्ता, दिपचण्डी, प्रताल, च्वः, पलेमा, अस्तरा, जति, दादरा, कहरवा, लंतालगायत तालमा एक साथ बाद्य बादन गरिएको थियो । कार्यक्रममा देशका विभिन्न स्थानका मौलिक गायन, बाद्यबादन तथा सांस्कृतिक एवं सामाजिक क्रियाकलापसँग सम्बन्धित ३३ प्रकारका प्रस्तुति राखिएका थिए । यस क्रममा तामाङ् सेलो, नौमती, समला, टप्पा, सिलु, झाँगड, चण्डी, चाँचर, मारुनी लगायत धूनहरु प्रस्तुत भए । कार्यक्रममा करिब ४ सय कलाकारले प्रस्तुति गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारको तर्फबाट संगीत प्रवद्र्धनको लागि ज्यापु महागुथि नेपाःलाई सहयोग गर्ने बताए । उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नै संगीत र सांस्कृतिक क्षेत्रको प्रवद्र्धनको लागि केहीकाम गर्ने अवसर प्राप्तभएको बताउदै भविष्यमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले नेपाली संस्कृति नै पर्यटनको मुख्य आधार भएको हुनाले यसको प्रर्वद्धनका लागिबागमती सरकार प्रतिबद्ध रहेको बताए । उनले अहिले बागमतीको कामकाजी भाषाको रुपमा यहाँ बोलिने मुख्य भाषाहरु तामाङ र नेपाल भाषालाई लागू गराउनका लागि पहल भइरहेको र यो कार्य अन्तिम चरणमा पुगी सकेको बताए ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, थरीथरीका बाजा बजाउँदा कर्णप्रिय एउटै धुननिस्किए जस्तै विविध राजनीतिक तथा सामाजिक परिस्थितिबाट साझा सोच निर्माण गर्नु पर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरिन । परम्परागत बाजागाजा, गायन तथा यससँग सम्बन्धित मूर्त अमूर्त सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवर्धन कार्यलाई महानगरपालिकाले मुख्यदायित्वका रुपमा पूरा गर्नेछ, उनको भनाइ थियो ।

महानगरको संस्कृति पर्यटन समितिका संयोजक आशामान संगतले, नेपालको पहिचान बहुल सांगीतिक भएको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए । यो देश बहुभाषिक, बहुजातीय, बहु सांस्कृतिक त हुँदै हो । नेपाल भित्रका विविध जातजाति र समुदायमा मौलिक पहिचा नभएका बाद्यबादन र गायन छन् । यसलाई जोगाउन महानगरले प्रयास गरेको हो । संगतको भनाइ थियो । कार्यक्रमको सभापतित्व महागुथि नेपाःका अध्यक्ष लोककवि राजभाइजकःमिले कार्यक्रमको औचित्य र उद्देश्यबारे बताउदै खुल्लामञ्चको एउटै मञ्चमा ४ सय भन्दा बढी कलाकारहरुले नेपाली लोकधून प्रस्तुत गर्नु ऐतिहासिक उपलब्धी भएको बताए ।

उनले भने नेपाली बहुल संगीतलाई एउटै मञ्चमा उतार्ने तथा विविधतामा एकताको सन्देश दिने नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यस कार्यक्रमको अर्कोमुख्य उद्देश्य भनेको युवा पुस्तालाई नेपाली लोकसंगीतको महत्व बुझाएर पुस्तान्तरण गर्ने पनिहो । आजको यस अर्केष्ट्राका कलाकारको रुपमा किशोरदेखि जेष्ठनागरिकसम्म तथा हिमाल, पहाड, तराईका पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारको प्रतिनिधिमूलक सहभागिता रहनु पनि एक महत्वपूर्ण उपलब्धीको रुपमा हामीले लिएका छौं । यो कार्यक्रमबाट लोक संगीतको संरक्षणका साथै देशको पर्यटन विकासमा पनि टेवा पुग्नेछ भन्ने हामीलाई विश्वास छ ।”

कार्यक्रममा शुभकामना व्यक्तगर्दै नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले नेपालीलोक संगीतको संरक्षणका लागि ज्यापु महागुथि नेपाःले आयोजना गरेको यो कार्य सराहनीय रहेको बताए । उनले नेपालको गौरवको रुपमा रहेको हामीले संरक्षण र संवद्र्धन गर्दै आएको बाजागाजाहरु संगालेर अर्केष्ट्रा तयार गर्नुले नेपाली संस्कृति संरक्षणमा टेवापुग्ने विचार राखेका थिए । कार्यक्रम संचालन महागुथिका महासचिव मचाराजा महर्जनले गरेका थिए भने अर्केष्ट्राको संगीतनिर्देशन वाद्यसम्राट न्हुछेबहादुर डंगोल र वाद्यगुरु धर्म मुनिकारले संयुक्तरुपमा गरेका थिए । उनिहरुलाई बाबुराजा महर्जन र कल्याण महर्जनले सहयोग गरेका थिए ।